पश्चिमान्चल अस्पतालमा क्याथ ल्याब, पोखराबाटै मुटुको उपचार हुने



पोखरा । गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमान्चल अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सन्चालनमा ल्याइएको छ। रोटरी इन्टरनेसनलको सहयोगमा मुटुरोग उपचार केन्द्र सन्चालनमा आएको हो।

करिब ७ करोड लगानीमा रोटरीले क्याथ ल्याब सन्चालनमा ल्याएपछि मुटुका विरामीले पोखराबाटै उपचार पाउने भएका छन्। यसअघि महंगो शुल्क तिरेर काठमाडौं र भारतसम्म उपचारका लागि जानुपर्ने विरामीले अब पोखरामै उपचार पाउने भएका हुन्।

केही समयअघि अस्पतालले पोखरामै मृगौलाको सफल प्रत्यारोपण पनि गरेको छ। योसँगै जटिल रोगका विरामीको उपचार अब पोखराबाटै हुने गरी उपकरण जडान गरिने स्वास्थ्यमन्त्री भवानी खापुङले बताए। क्याथ ल्याब हस्तान्तरणमा उनले मुटुको उपचारमा संघ सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए। ‘मुटु निकै संवेदनशील छ। सामान्य विरामी हुँदा पनि हेलिकोप्टर चढेर काठमाडौं जानुपर्ने अवस्था हिजोका दिनमा थियो,’ उनले भने, ‘अब पोखरामै उपचार हुन्छ। स्वास्थ्य सेवा केही सुलभ र सस्तो भएको छ। यो खुसीको कुरा हो।’

पोखराका मेयर धनराज आचार्यले पनि दातृनिकायसँग मिलेर आफूहरूले पोखरामा गुणस्तरीय स्वास्थ्य सेवाको हब बनाउने बताए। ‘दातृ संस्था र सामाजिक संघ स्थाको ठूलो भूमिका हुन्छ। स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकारको मातहत छ। तर सेवा दिने हाम्रै हो,’ उनले भने, ‘हामी यसलाई स्वास्थ्यको हवका रूपमा विकास गर्न चाहन्छौं। संघ सरकारले र प्रदेश सरकारले पनि सहयोग गरोस्।’

रोटरी इन्टरनेसनलका अध्यक्ष शेखर मेहताले पोखराको सरकारी अस्पतालमा क्याथ ल्याब स्थापना गर्दा खुसी लागेको बताए। यसअघि पनि रोटरीले अस्पतालमा ह्वील चियर, उपकरण, औषधिलगायत करोडौंको सहयोग वर्षेनी गर्दै आएको छ। अब आँखा अस्पताल निर्माणका लागि आफूहरू जुटेको मेहताको भनाइ छ। उक्त क्याथ ल्याब प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्