आज भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्दै प्रचण्ड



काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार भेटघाटमा व्यस्त हुने भएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रचण्ड शुक्रबार राति भाजपाले आयोजना गरेको रात्रिभोजमा सहभागी भए।

उनी शनिबार बिहान नेपाली राजदूत डा. शंकर शर्माले उनको सम्मानमा दिने ब्रेकफास्टमा सहभागी हुनेछन्। जसमा दूतावासका कर्मचारी र माओवादी समर्थित भारतस्थित प्रवासी नेपालीको सहभागिता रहनेछ।

यस्तै प्रचण्डलाई शनिबार भारतीय विदेशमन्त्री जयशंकरले भेट्ने कार्यक्रम छ। भारतीय विदेश सचिव क्वात्राले पनि अलग्गै भेट्ने बताइएको छ। त्यसपछि उनी ‘फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलिसी’ नामको संस्थाले आयोजना गर्ने नेपाल–भारत सम्बन्ध विषयक कार्यक्रममा प्रमुख वक्ता हुनेछन्।

कार्यक्रममा नेपालका लागि भारतीय पूर्वराजदूत, भाजपाका नेताहरू, विदेश मन्त्रालयका कर्मचारी र अन्तर्राष्ट्रिय मामिला विज्ञहरुलाई बोलाइएको छ। आज साँझ भारतीय विदेशमन्त्री जयशंकरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई रात्रिभोज दिने कार्यक्रम छ। त्यहाँ भारतीय सरकारका मन्त्रीहरू पनि सहभागी हुनेछन्।

यसपछि भोलि आइतबार प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने उच्च सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्। मोदीसँगको भेटपछि प्रचण्ड भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गर्ने कार्यक्रम छ।

त्यहाँ भाजपाका अध्यक्ष जेपी नड्डाले प्रचण्डसँग भेटवार्ता गर्नेछन्। भारत भ्रमण सकेर प्रचण्ड आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्