धरौटीमा छुटेका बलात्कार आरोपीलाई पक्रेर मुद्दा अघि बढाउन आदेश



दोलखा : जिल्ला अदालत दोलखाले बलात्कार मुद्दाका अभियुक्तलाई धरौटीमा छाड्न दिएको आदेश त्रुटिपूर्ण भन्दै उच्च अदालत पाटनले थुनामा राखेर मुद्दा चलाउन आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश राजकुमार बम र नातिबाबु लामिछानेको संयुक्त इजलासले १६ वर्षकी किशोरी बलात्कारको मुद्दामा धरौटीमा छुटेका इराज गिरीलाई पुनः थुनामा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

 

दोलखाकी १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका इराज गिरीलाई जिल्ला अदालतले ६५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला न्यायाधीश कमलराज विष्टको एकल इजलासले २७ वैशाख ०७५ मा गरेको आदेश उच्च अदालतले बदर गरिदिएको हो ।

 

जिल्ला अदालतको आदेशपछि किशोरी गाउँ जान सकिनन् । आदेशपछि उनी दिदीको घर काठमाडौंमा छिन् । अभियुक्तलाई धरौटीमा छाड्ने आदेश भएपछि उनी सिन्दुरजात्रा गर्दै गाउँ गए । जिल्ला अदालत दोलखाको आदेशले सामान्य धरौटीमा छुटेपछि इराजले गाउँमा दुईवटा खसी काटेर गाउँलेलाई भोजसमेत खुवाएका थिए ।

 

पञ्चेबाजा बजाएर घरभित्रै अबिरजात्रा गरेर गाउँ पसे । तर, बलात्कारको मुद्दामा जिल्ला अदालतबाट पीडित बनेपछि किशोरी भने घर जान सकेकी छैनन् ।

 

अभियुक्त गिरीले ३ फागुन ०७४ मा गोठबाट फर्कंदै गर्दा १६ वर्षकी किशोरीलाई बलात्कार गरेका थिए । बलात्कारको सिकार भएकी किशोरीले महिनावारी रोकिएपछि अभियुक्त गिरीलाई बताइन् । अभियुक्त गिरीले उपचारका लागि काठमाडौं जाऔँ भनेर भारततर्फ लैजाँदै गर्दा काँकडभित्ता पुर्‍याएपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्