आयकरको सीमा वृद्धि, अब कसले कति तिर्नुपर्छ ?



काठमाडौं । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले बढाएको आयकरको सीमा साउन १ गतेदेखि कार्यान्वयनमा आएको छ । नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपियाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन ।

त्यस्तै विवाहितको हकमा छ लाख रुपियाँसम्म आयकर लाग्दैन । यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ । यसैगरी अविवाहितको हकमा पाँचदेखि सात लाख रुपियाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपियाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपियाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ ।

वार्षिक २० लाख रुपियाँभन्दा आम्दानी हुने अवस्थामा भने त्यसभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ । विवाहितको हकमा छ लाखदेखि आठ लाख रुपियाँसम्मको आम्दानीमा १० प्रतिशत आयकर तिर्नुपर्ने नयाँ व्यवस्था छ ।

आठ लाखदेखि ११ लाख रुपियाँसम्मको आम्दानीमा २० प्रतिशत र ११ लाखदेखि २० लाख रुपियाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्नेछ । २० लाखभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्