अर्थ मन्त्रालयका सम्बन्धितअधिकारीसँग सीसीटीभीबारे सोधपुछ



काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग पनि सोधपुछ सक्ने तयारी रहेको छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले बताएका छन ।

आइतबार नै अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको उनले जानकारी दिएका हुन् ।

उनले भने, ‘शनिबार पनि भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ गर्ने काम भयो । आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटीको इन्जिनियरसँग ८ बजेको बैठकमा छलफल भयो । त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो । अब राजश्व सचिवसँग छलफल तथा सोधपुछ गर्ने कार्यक्रम छ । सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग छलफल सक्ने तयारी छ ।’

सचिव अर्यालले आइतबार नै मन्त्रालयसँग सम्बन्धित विषयका प्रमाण र कागजका लागि आवश्यक सबै अधिकारीहरुसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्