उडिरहेको विमानको पखेटा चोइटिएपछि आकस्मिक अवतरण



एजेन्सी : अमेरिकाको न्युयोर्कबाट चीनको शांघाई गइरहेको चाइना ईस्टर्नको एक विमानको एउटा पखेटाबाट धातुको ठूलो प्यानल चोइटिएको छ। सोमवार अपराह्नमा भएको यस घटनापछि पाइलटले आकस्मिक अवतरण गराएका थिए। 

विमान जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न ४ः२५ मा उडेको थियो तर उडानको केही बेरपछि विमान अल्बानीमाथि उड्दै गर्दा केही यात्रुहरूले देब्रे पखेटा चोइटिरहेको देखे।विमानको उक्त पखेटामा लगभग आधा मिटरको भाग चोइटिएको थियो । 

यात्रुहरूले विमान कर्मचारीलाई तत्कालै यसको जानकारी दिएपछि पाइलटहरूले विमान न्युयोर्कतिरै फर्काएका थिए। एमयू५८८ विमानले तेल सक्नका लागि वृत्तमा घुमेको घुम्यै गरेपछि बल्ल विमानस्थलमा अवतरण गरेको थियो। 

विमान कुनै घटना नभइकनै विमानस्थलमा अवतरण गर्न सफल भएको थियो। उडेको दुई घन्टा २० मिनेटमा विमान अवतरण गरेको थियो। न्युयोर्कबाट शांघाईसम्मको ७४ सय माइलको उडानका लागि १४ घन्टाभन्दा बढी समय लाग्छ। 

के कारणले पखेटा चोइटिएको हो भन्ने कुरा अधिकारीहरूले खुलासा गरेका छैनन्। तर चाइना ईस्टर्न संसारकै सबभन्दा खराब एयरलाइन्समध्ये एक भएको शांघाईस्टले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्