लमजुङमा ८१ प्रतिशत रोपाइँ



लमजुङ । लमजुङमा हालसम्म ८१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका प्रमुख सुदिप खतिवडाले बताए।

लमजुङमा बर्खे र चैतेधान गरी १३ हजार २ सय ५० हेक्टरमा धान खेती गरिन्छ। जिल्लाको खेतीयोग्य जमिनमा यतिवेला बर्खेधान रोप्ने काम भइरहेको छ।

लमजुङमा पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला खेतमा जेठ अन्तिम हप्तादेखि नै धान रोपाइँ सुरु भएको थियो। मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्‍न बाँकी छ।

मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यस वर्स लमजुङमा धान रोपाइँ चाँडै सुरु गरिएको थियो।

लमजुङको ठूला–ठूला फाँटहरू राइनासटार, धमिलिकुवा, रामचोकबेँसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै धान रोपाइँ भइरहेको छ।

लमजुङका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या–२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, युएस ३१२, मकवानपुर, बर्खे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्