श्रीलङ्कामा सङ्कटकाल घोषणा



एजेन्सी । श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ। श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गरेका हुन्।

उनले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गरेको समाचारमा जनाइएको छ। श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताएका थिए।

सोही बमोजिम राष्ट्रपति विक्रमासिंघेले सोमबार एक विशेष सूचनामार्फत् देशव्यापी रुपमा सोमबारदेखि नै लागू हुनेगरी सङ्कटकालको घोषणा गरे। उता श्रीलङ्काली संसदले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ।

जुलाई २० मा त्यहाँको संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि मङ्गलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिएका छन् ।

राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेपछि कार्यबाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका थिए। श्रीलङ्का पछिल्लो समयमा आर्थिक सङ्कटमा फसेको छ । देश आर्थिक सङ्कटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्