कमैया राख्नेलाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कसैले पनि कमैया वा त्यसैको रुपमा हरवाचरवा राख्न वा अन्य बँधुवा श्रमिक राख्न नपाउने उल्लेख गरेका छन् । प्रधानमन्त्रीले त्यस्तो कहीँ कतै पाइए तत्काल कानुनी कारबाही गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् ।

उनले सामाजिक कुप्रथाको रुपमा रहेको कमैया प्रथालाई सरकारले निषेध गरेको २२ वर्ष पूरा भइसकेको भन्दै त्योसँगै हरवाचरवाको समेत मुक्तिको घोषणा भएको बताए । सोमबार कमैया मुक्तिको २२ वर्ष पूरा भएको सन्दर्भमा बालुवाटारमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अब कसैले पनि कमैया, हरवाचरवा वा अरु कुनै नाममा बँधुवा श्रमिक राखेको भए त्यो सरकारी घोषणा र कानुनविपरीत हुने बताएका छन् ।

‘अब कसैले पनि त्यस्तो कमैया, हरवाचरवा वा त्यस्तै बँधुवा श्रमिक राख्न पाउँदैन, यदि कसैले त्यस्तो गरेको छ भने त्यो सरकारको घोषणाविपरीत हो, कानुनविपरीत हो,’ उनले भने, ‘त्यसको प्रभावकारी अनुगमन गरी कारबाहीका लागि म सरकारका निकायहरुलाई निर्देशन गर्दछु ।’

प्रधानमन्त्री देउवाले हरवाचरवा वा कमैयाको कुनै अवशेष बाँकी भएको भए त्यो दण्डनीय हुने समेत बताए । कार्यक्रममा हरवाचरवाहरुको तर्फबाट बोलेका दर्शन मण्डलले सरकारले कमैया मुक्तिको घोषणा गरे पनि मधेशका हरवाचरवा श्रमिकको मुक्तिको घोषणा नगरेको गुनासो गरेका थिए।

‘सरकारले २२ वर्षअघि नै कमैया मुक्तिको घोषणा गरे पनि तराईमा भने त्यस्तै प्रकृतिको हरवाचरवा प्रथा कायम रहेको भूमि व्यवस्था मन्त्रालयको एक अध्ययन समितिको प्रतिवेदन छ ।

 

प्रतिक्रिया दिनुहोस्