‘पार्टी एकता नगरेको भए हुन्थ्यो कि भन्ने लाग्न थालेको छ’



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको बताएका छन्।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब एकता सुदृढ नभए देश सफल नहुने र कम्युनिस्ट आन्दोलन पनि सफल नहुने बताए।

प्रचण्डले भने, ‘कहिलेकाहीँ पार्टी एकता नगरेको भए बरु कहिँ न कहिँ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ, सबै विकल्प सकेर हामी सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिष्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता छ।’

अहिले यही चिन्ताले अप्ठेरो भन्दा अप्ठेरो समस्या पनि हल गर्दै गएको प्रचण्डले बताए। उनले शुक्रबारको सचिवालय समितिको निर्णय पनि त्यस्तै अप्ठेरो निर्णय भएको बताए।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको भन्दै उनले अहिले केही गर्न नसके इतिहासले धिक्कार्ने बताए। अध्यक्ष दाहालले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्