महिलाले जन्माइन् जुम्ल्याहा, बच्चाका बुवा फरक-फरक



एजेन्सी : दुनियामा कहिलेकाहीँ साँच्चीकै चमत्कार हुन्छ। चीनको जियामेनमा यस्तै भएको छ। त्यहाँ एकजना महिलाले फरक फरक बाउ भएका जुम्ल्याहा बच्चा जन्माएकी छिन्। ती जुम्ल्याहा बच्चाको जन्म दर्ता गराउने क्रममा पितृत्व परीक्षण गर्दा उनीहरुका पिता फरक-फरक पुरुष रहेको प्रमाणित भएको हो।

डिएनए टेस्टका क्रममा जुम्ल्याहाको डिएनए फरक-फरक पाइयो। यसको अर्थ दुई बच्चाको पिता एउटै थिएनन्। त्यसपछि ती महिलासँग सोधनी भयो। अन्ततः उनले आफूले आफ्नो लोग्ने बाहेकको परपुरुषसँग पनि यौन सम्पर्क राखेको र सोही यौन सम्पर्कका क्रममा गर्भाधान भएको हुनसक्ने बताइन्।

स्थानीय सरकारी अड्डामा बच्चाको जन्मदर्ता गराउँदा बाउआमाले आफ्नो बच्चा भएको प्रमाण स्वरुप डिएनए रिपोर्ट बुझाउनु पर्ने रहेछ। सोही मुताविक ती जुम्ल्याहाको पनि डिएनए परीक्षण गरिएको थियो। तर, जब जुम्ल्याहाको डिएनए रिपोर्ट फरक-फरक आयो, तब सबै झसँग परे। त्यसले ती महिलाको पोल मात्र खुलेन चिकित्सा जगतमा एउटा नयाँ चमत्कार पनि भेटियो।

स्थानीय सञ्चार माध्यमका अनुसार जुम्ल्याहा बच्चा जन्मिने बित्तिकै बच्चाका पिता शियाओलोंगले जुम्ल्याहा मध्ये एउटा बच्चाको अनुहार आफूसँग ठ्याक्कै नमिल्ने भन्दै गुनासो गरिरहेका थिए। जब डिएनए रिपोर्ट आयो तब उनको त्यो गुनासो सही ठहरियो।

पहिलो पटकको डिएनए टेस्टमा पत्यार नलागेपछि उनले फुजियान झेंगताई न्यायिक प्रमाणीकरण केन्द्रमा गएर पुनः डिएनए टेस्ट गराए। आखिर नतिजा उहीँ निस्कियो। जसबाट प्रमाणित भयो कि जुम्ल्याहा मध्ये एउटा बच्चाको पिता उनी नभएर अर्को कुनै पुरुष रहेछ।

सुरुमा त पत्नी चाहीँले डिएनए रिपोर्ट झुटो भन्दै आफ्नो कुनै पनि पुरुषसँग सम्बन्ध नरहेको जिकिर गरेकी थिइन्। तर उनको झुट लामो समयसम्म टिकेन र अन्ततः आफू अर्को पुरुषसँग पनि अवैध सम्बन्ध कायम गरेको र एकरात सँगै बिताएको स्विकारिन्।

प्रतिक्रिया दिनुहोस्