कार चोर्नेलाई अनौठो सजायँ : ४ वर्षसम्म पेप्सी पिउन नपाउने



एजेन्सी : कार चोरी गर्ने मानिसमाथि अदालतले कस्तो सजायँ गर्ला ? जेल सजायँ वा नगद जरिवाना। तर अमेरिकामा भने एकजना कार चोरीका अभियुक्तलाई अदालतले चार वर्षसम्म पेप्सी पिउन नपाउने फैसला गरेको छ ।

अमेरिकाको हवाईस्थित अदालतले २१ वर्षका एक अभियुक्त विरुद्ध यस्तो फैसला गरेको हो। समाचार अनुसार क्रिस्टोफर मोन्टीलियानो नामका ती अभियुक्तलाई उनको मनपर्ने पेय पदार्थ पेप्सी चार वर्षसम्म नपिउने आदेश गर्ने न्यायाधीशको नाम रोन्डा लू हो।

गत जुन महिनामा माउल क्षेत्रमा चोरीको कारसँगै पक्राउ परेका थिए क्रिस्टोफर। तर उनले उक्त कार आफ्नो भतिजको भएको र आफु कार चलाएर आफुलाई मनपर्ने पेय पदार्थ पेप्सी किन्न जान लागेको भनी अधिकारीहरु तथा अदालतमा पनि झुटो बयान दिएका थिए।

तर उनको ढाँटेको प्रमाणित भएसँगै न्यायाधीशले अभियुक्तले आफ्नो मनपर्ने पेय पदार्थ पेप्सी चार वर्षसम्म पिउन नपाउने फैसला गरेकी हुन्। यसअघि पनि क्रिस्टोफरले यस्तै खालको मुद्दामा सात वर्ष जेल सजायँ भुक्तान गरेका थिए । उसमा पेप्सीको अत्यधिक लत रहेको समेत पाइएको छ।

यस पटक उसले आफुले अब गल्ती नगर्ने भन्दै जेल नपठाउन अनुनय विनय गरेको थियो। सोही कारण न्यायाधीशले उसलाई चार वर्षसम्म पेप्सी पिउन नपाउने आदेश दिइन्। त्यो सँगै क्रिस्टोफरले १ सयघण्टासम्म समुदायमा जनश्रमदान गर्नुपर्नेछ भने १ सय डलर जरिवाना पनि तिर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्