स्वास्थ्यकर्मी अभावमा बेनी अस्पतालको सेवा प्रभावित



म्याग्दी । स्वास्थ्यकर्मी अभावमा बेनी अस्पतालको सेवा प्रभावित भएको छ। कोरोना कोषबाट तलबभत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था ‘निक साइमन इन्स्टिच्युट’ (एनएसआई)ले पठाएको चार स्वास्थ्यकर्मीको अवधि एकैपल्ट सकिँदा सेवा प्रभावित भएको हो।

कोभिड कोषअन्तर्गत नियुक्त भएका १३ नर्स, चार अनमी, तीन ल्याब टेक्निसियन, तीन हेल्थ असिस्टेन्ट, दुई अहेव, दुई फार्मेसी सहायक, एक ल्याब असिस्टेन्ट र दुई हेल्थ असिस्टेन्टको असार मसान्तदेखि करार अवधि सकिएको छ। असार मसान्तबाट एनएसआईको परियोजना सकिएकाले एक मेडिकल अधिकृत, एक एनेस्थेसिया सहायक, एक स्टाफ नर्स र एक बायोमेडिकल इक्युपमेन्ट टेक्निसियन अस्पतालबाट बाहिरिएका छन्।

एनेस्थेसिया असिस्टेन्ट नै नभएपछि बेहोस बनाएर गर्नुपर्ने सम्पूर्ण उपचार सेवा बन्द भएको छ। अस्पतालले विज्ञप्ति प्रकाशित गरी ३८ स्वास्थ्यकर्मीको म्याद थप नहुँदा सेवा प्रभावित भएको जनाएको छ। साना शल्यक्रिया, शल्यक्रिया गरी सुत्केरी गराउने (सुरक्षित सुत्केरी सेवा) र सर्जिकल गर्भपतनसहित बिरामी बेहोस बनाई गरिने सबै उपचार बन्द भएको विज्ञप्तिमा उल्लेख छ।

गत असार महिनामा बेनी अस्पतालमा सुरक्षित प्रसूति सेवा लिएका ९२ मध्ये १८ जनाको शल्यक्रिया गरिएको थियो। सेवा बन्द हुँदा सुत्केरी हुने समय पुगेका गर्भवती बागलुङ वा पोखरा पुग्नुपर्ने भएको गुनासो गरेका छन्। अस्पतालमा आठ कन्सल्टेन्ट चिकित्सक र चार मेडिकल अधिकृतसहित ५९ जनाको दरबन्दी भए पनि हाल १९ स्वास्थ्यकर्मी मात्रै छन्। ४० जना अपुग छन्।

बेनी अस्पतालका प्रमुख जितेन्द्र कँडेलले करार अवधि सकिएपछि भएका स्वास्थ्यकर्मीको बिदाइ र थप जनशक्ति व्यवस्थापन नहुँदा समस्या भएको बताए। मेडिकल, सर्जिकल, बालरोग, स्त्रीरोग, नाक–कान–घाँटीसमेतका वार्ड स्थगित गरी प्रसूति, जनरल वार्ड मात्र चलाउनुपर्ने अवस्था आएको उनले बताए। एनेस्थेसियासँग सम्बन्धित जनशक्ति नहुँदा शल्यक्रिया प्रभावित बनेको छ।

हाल दरबन्दीका १९ बाहेक छात्रवृत्ति करारका तीन कन्सल्टेन्ट, चार मेडिकल अफिसर र अस्पताल व्यवस्थापन समितिले नियुक्त गरेका अन्य स्वास्थ्यकर्मी छन्। डायलसिस, फार्मेसी, विलिङ, दर्ता, इन्डोर र आकस्मिकमा आन्तरिक स्रोतबाट व्यहोर्ने गरी कर्मचारी नियुक्त गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए। पचास शैय्या क्षमताको अस्पतालमा बालरोग, स्त्रीरोग, हाडजोर्नी, फिजियोथेरापी, रेडियोलोली, शल्यक्रिया, एनेस्थेसियासमेत सातवटा वार्ड (विभाग) छ।

सोहीअनुसार प्रत्येक वार्डमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल चिकित्सक, चार नर्सले सेवा दिने गरेका थिए। चार मेडिकल अधिकृतको दरबन्दी भएकामा दुई जना अध्ययन बिदामा छन्। एक जना रिक्त छ। बाँकी नवौँ तहका मेडिकल अफिसर रहेका चिकित्सक कँडेलले कार्यालय प्रमुखको रूपमा प्रशासनिक काममा समय दिने गरेका छन्। आठ नर्समध्ये पाँच मात्र कार्यरत छन्।

गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलबभत्ता दिने गरी गत पुसमा नियुक्त गरेका ३५० स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि प्रदेशका ११ जिल्लाका अस्पतालको सेवामा असर परेको छ।

कोरोना कम भएको अवस्थामा स्वास्थ्यकर्मी जिल्ला अस्पतालमा रहेर अन्य बिरामीको उपचारमा खटिएका थिए। नयाँ कर्मचारी नियुक्त नगरी करारमा रहेका कर्मचारीलाई हटाउँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो।

प्रतिक्रिया दिनुहोस्