सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै, भारतबाट फर्किनेमा उच्च संक्रमण



काठमाडौं । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबारमात्रै यस प्रदेशमा ९ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना संक्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा संक्रमण देखिएको हो ।

संक्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ। मंगलबार गड्डाचौकी नाकामा सात र गौरीफन्टा नाकामा दुई जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । जोखिम कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गरिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो ।

‘सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ,’ उनले भने ।

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ। पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा भइरहेको जनाइएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना संक्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५४ हजार ८८२ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ७६० जनामा संक्रमण भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्