नेकपा नेतालाई पार्सल आउन छाड्यो



काठमाडौं : विश्व डिजिटलमय बनेसगैँ हस्तलिखित चिठिपत्रको आदन प्रदान बन्द हुँदै गएको छ। सर्वसाधरण समेत सहजै इन्टरनेटको पहुँचमा हुन थालेपछि राजनीतिक दलका नेता झन् के कम। धुम्बाराहीस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कार्यालयको पिजनहल (पार्सल सकंलन गर्ने र्याक) मा नेताहरूको पार्सल आउन छाडेको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलकालगायत केही नेताको छिटपुट पार्सल आए पनि धेरै नेताहरूका नामको पिजनहलको र्याक खाली छन्।

पार्टी कार्यालयको रिसेप्सन कक्षमा राखिएका पिजनहलमा नेकपाका स्थायी समितीका सबै सदस्यको नाममा पार्सल सकंलन गर्न र्याक राखिएको छ। नेकपाको ४६ सदस्यीय स्थायी समिती छ। नेकपाको धुम्बाराहीस्थित केन्द्रिय कार्यालयको रिसेप्सन कक्षमा कार्यरत चन्द्रदेव पासवान केही समय यता नेताहरूको पार्सल नगन्य मात्रामा आउन थालेको बताउँछन्।

पासवान भन्छन्,‘मोवाइल इन्टरनेको सुविधा सहज रुपमा उपलब्ध हुन थालेकाले हुन सक्छ केही समय यता नेताहरूको चिठीपत्रलगायत अन्य पार्सलहरू नगन्य मात्रामा आउन थालेका छन्।

२०५१ सालदेखि तत्कालिन एमालेको बल्खुस्थित केन्द्रिय कार्यालयमा रिसेप्सनको जिम्मेवारी सम्हाल्दै आएका उनी पूर्व एमाले र पूर्व माओवादीपछि गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कार्यालमा पनि रिसेप्सनिष्टका रुपमा कार्यरत छन्।

नेकपाको अर्को केन्द्रिय कार्यालय कोटेश्वरस्थित पेरिस डाँडामा छ। पेरिस डाँडास्थित केन्द्रिय कार्यालयमा भने पिजनहल स्थापना गरिएको छैन्। अन्य नेताको तुलनामा सबैभन्दा धेरै चिठीपत्र र पार्सल महासचिव बिष्णु पौडेको आउने गरेको छ। त्यसपछि अध्यक्षद्वय ओली र प्रचण्डको आउने गरेको छ। कार्यक्रमहरूमा भाग लिन पार्टी कार्यालय आएका बेला पार्सल नेताहरू आफैले लाने गरेका छन्।

कतिपय जरुरी पार्सलहरू भने रिसेप्सनिष्ट पासवानले फोन गरेर नेताहरूलाई जानकारी गराउने गरेका छन्। खबर गरेपछि नेताहरूका मान्छे आएर पार्सल लाने गरेको उनी बताउँछन्।

इन्टरनेटको पहुँच नभएका बेला नेताहरूलाई जिल्लाका नेता कार्यकर्ताका चिठीहरू प्रशस्त आउने गरेका थिए। त्यस्तै साहित्यीक किताबहरू पनि पार्सल आउँथ्यो। बिदेशबाट पनि प्रशस्त मात्रामा पार्सल आउने गरेको थियो। 

 

प्रतिक्रिया दिनुहोस्