बन्यो रोबोटिक पुच्छर : शरीर सन्तुलन गर्न उपयोगी (भिडियो सहित)



एजेन्सी : अल्झेर लड्ने वा सन्तुलन गुमाउने मानिसका लागि जापानी अनुसन्धाताहरूले रोबोटिक पुच्छर विकसित गरेका छन्। टोक्योको केइयो विश्वविद्यालयको एक टोलीले मानिसको शरीरमा पछिल्तिर अड्याउन मिल्ने पुच्छर बनाएको छ। जनावरले जस्तै आफ्नो सन्तुलन मिलाउनका लागि पुच्छरले सहज बनाउँछ। 

स्तनधारी प्राणीहरू तथा ढाड भएका अन्य प्राणीहरूका पुच्छरले अतिरिक्त अंगका रूपमा काम गर्ने कुरा अवलोकन गरेपछि अनुसन्धाताहरूले यो पुच्छर विकसित गरेका हुन्। एक मिटर लामो बाक्लो पुच्छर लगाउने व्यक्तिको कम्मरमा जोडिन्छ। यो कुनै विज्ञानकथामा बनेको फिल्मको दृश्य जस्तो लाग्छ। वास्तविक पुच्छर जस्तै यो पनि यताउता हल्लिने र बटारिने गर्छ। 

पुच्छरमा सेन्सर र चारवटा कृत्रिम मांसपेशी छन् जसले गर्दा लगाउने व्यक्तिको चालढालसँगै यो पनि गतिमान हुन्छ। उदाहरणका लागि, तपाईं देब्रेतिर झुक्नुभयो भने पुच्छर दाहिनेतिर जान्छ। तपाईं तलतिर झुक्नुभयो भने पुच्छर मास्तिर जान्छ। 

यस्तो उल्टो गतिले शरीरको गति र गुरुत्वाकर्षणको केन्द्रलाई परिवर्तन गर्न पर्याप्त बल दिन्छ जसले गर्दा सन्तुलन मिल्छ अनि लगाउने व्यक्तिलाई स्थिरता दिन्छ। रोग लागेर शरीर सन्तुलनमा राख्न नसक्ने व्यक्तिलाई यो उपयोगी हुने अनुसन्धाताहरूको कथन छ। तर लामो समयसम्म यसको प्रयोग गर्दा हुने हानिका विषयमा अनुसन्धान गर्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्