राष्ट्रिय गौरवका आयोजना : उत्साहजनक खर्च, निराशाजनक प्रगति



काठमाडौं । सरकारले घोषणा गरेका अधिकांश राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ। केही आयोजनाले अर्बौं रुपैयाँ खर्च गरिसक्दा पनि प्रगति भने शून्य देखिएको छ।

महालेखापरीक्षकको ५९औँ प्रतिवेदनअनुसार सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनामध्येका रेल्वे तथा मेट्रो विकास आयोजना, विद्युत् प्रसारण लाइन, पश्चिम सेती जलविद्युत् आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति शून्य छ।आर्थिक वर्ष २०६६/०७७ देखि सुरु भएको रेल्वे तथा मेट्रो विकास आयोजनाले प्रगति शून्य गरी हालसम्म २४ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको छ।

गत वर्ष मात्र उक्त आयोजनाले २ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ। उक्त आयोजनाले आर्थिक वर्ष २०७८/०७९ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो। आयोजनाको कुल लागत अनुमान ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ थियो। महालेखापरीक्षक कार्यालयका अनुसार योजना प्रतिवेदन तयार नगरी निर्माण कार्य सुरु गर्नु, खरिद कार्य गर्नुपूर्वका कार्यहरू नगर्दा गौरवका आयोजना प्रभावित भएका हुन्।

जग्गा प्राप्ति र क्षतिपूर्ति र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृति, सीमाङ्कन, रेखाङ्कन कार्य सम्पन्न नगरी निर्माणको खरिद गर्नु, अन्तरनिकाय समन्वय अभाव, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन÷मूल्याङ्कनलगायतका समस्याले गर्दा योजना निर्माणको समय र लागत दुवै वृद्धि भएको प्रतिवदेनमा उल्लेख छ।

प्रतिवेदनअनुसार विगत १० वर्षदेखि राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइँदै आएको छ। यस वर्ष माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाहेक वर्षौंदेखि सुरु भएका अरू आयोजना सम्पन्न हुन सकेका छैनन्। सुनकोसी मरिन डाइभर्सन आयोजनाको ३ दशमलब २०, काठमाडौं–तराई मधेस दुर्तमार्ग १६ दशमलब १, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति ४ दशमलब ४४ प्रतिशत मात्र प्रगति भएको छ।

यसबाहेक मेलम्ची खानेपानी आयोजना ९९ दशमलब ४७, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ९२ दशमलब ३ प्रतिशत भौतिक प्रगति भएको छ। मेलम्ची २०७७/०७८ मा र पोखरा २०७९/०८० मा सकिनुपर्ने आयोजना हुन् । गत वर्ष मात्र सरकारले १७ वटा गौरवका आयोजना घोषणा गरेको थियो । यस वर्ष २४ वटा पुगेका छन् । सबै आयोजना निर्माणको काम सुस्त छ ।

सरकारले आर्थिक वर्ष २०६८/०६९ मा समृद्ध नेपालको सडक पूर्वाधारको आधारशिला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि उत्पादन र उत्पादकत्व बढाउने जलविद्युत्, विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षणलगायतका क्षेत्रमा राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो। तर, हालसम्म एउटा बाहेक अरू आयोजना पूरा हुन सकेका छैनन्।

आर्थिक वर्ष २०६४/०६५ देखि सुरु भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको हालसम्म ५७ दशमलब ८४ प्रतिशत मात्र प्रगति भएको छ। यसमा खर्च ५३ अर्ब ३४ करोड रुपैयाँ भइसकेको छ । उक्त आयोजना आर्थिक वर्ष २०७९/०८० मा सक्ने लक्ष्य राखिएको छ । आयोजनाको लागत अनुमान ८४ अर्ब ३३ करोड रुपैयाँ गरेको छ।

यसैगरी गरी आर्थिक वर्ष २०७७/०७८ मा सो आयोजनामा ७ अर्ब २० करोड रुपैयाँ खर्च भएको थियो । यसको कुल लागत ८४ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ। हालसम्म ५७ दशमलब ८४ प्रतिशत प्रगति भएको हुँदा सो आयोजनाले लिएको लक्ष्यअनुसार सम्पन्न हुने छाँटकाँट देखिँदैन। आर्थिक वर्ष २०६५/०६६ मा सुरु भएको उत्तर–दक्षिण (कर्णाली करिडोर) लोकमार्गको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ।

सो आयोजनाले २०८०/०८१ मा सक्ने लक्ष्य लिएको छ । लागत अनुमान ४१ अर्ब रुपैयाँ गरेको छ । हालसम्म ११ अर्ब ३० करोड रुपैयाँ खर्च गरिसकेको छ। यसैगरी प्रतिवदेनअनुसार उत्तर–दक्षिण (कोसी करिडोर) लोकमार्ग आयोजनाले ३० अर्ब ५८ अर्ब रुपैयाँ खर्च गरेको छ।

प्रगति भने जम्मा २४ प्रतिशत भएको छ। सो आयोजना १ खर्ब ६२ अर्ब रुपैयाँ लागत अनुमानमा आर्थिक वर्ष २०६५/०६६ देखि सुरु भएको थियो। आयोजना २०८०/०८१ मा सक्ने लक्ष्य लिइएको छ।

यस्तै, आर्थिक वर्ष २०६६/०६७ मा सुरु भएको उत्तर–दक्षिण ( कालीगण्डकी करिडोर) लोकमार्ग २०८०/०८१ मा सक्ने लक्ष्य लिइएको छ । यसको गत आर्थिक वर्षसम्ममा ४९ प्रतिशत मात्र प्रगति भएको छ । आयोजनाको लागत अनुमान २ खर्ब ७० अर्ब रुपैयाँ छ। हालसम्म १ खर्ब १ करोड रुपैयाँ खर्च भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्