‘कम्युनिस्ट’पछि ‘समाजवाद’को हुर्मत !



काठमाडौं । उन्नाइसौँ शताब्दी र बीसौँ शताब्दीमा अत्यन्त चर्चामा रहेको शब्द हो– कम्युनिस्ट । सन् १८४८ मा दार्शनिक कार्ल माक्र्सले कम्युनिस्ट मेनिफेस्टो तयार पारेपछि विश्व राजनीतिमा कम्युनिस्ट शब्द खुब चर्चामा आयो।

अझ त्यसमा ‘मजदुर’, ‘श्रमिक’, ‘किसान’, ‘विपन्न’, ‘शोषित’, ‘उत्पीडित’ आदिसमेत जोडिएपछि त संसारभर कम्युनिस्ट आन्दोलनको अपूर्व लहर चल्यो। यसकै सेरोफेरोमा बीसौँ शताब्दीको सुरुतिरै सोभियत सङ्घमा र मध्यतिर चीनमा कम्युनिस्टको प्रभावशाली उदयसँगै विश्व राजनीति ‘कम्युस्टि’ शब्दप्रति बढी नै आकर्षित भएको हो । यसकै परिणाम भियतनाम, क्युबा, उत्तर कोरियामा पनि कट्टर कम्युनिस्टहरू उदाए।

सोभियत कम्युनिज्म ढलेको ३ दशक भइसकेको छ भने चीन उदारवादतर्फ उन्मुद छ, भलै, उसले आफूलाई विश्वकै ठूलो कम्युनिस्ट देशको दाबी किन नगरोस् । क्युवा, भियतनाम, उत्तर कोरियालगायतका देशहरूले धेरथोर ‘कम्युनिस्ट’लाई ‘बचाइरहेका’ भनिन्छ । तथापि, कम्युनिज्मको मर्म र भावना ती देशले कतिको आत्मसात् गरेका छन्, त्यो अर्को बहसको पाटो हो। सन्दर्भ ‘कम्युनिस्ट’ शब्द–मोहको हो ।

नेपालमा पनि विश्व राजनीतिक परिदृश्यमा कम्युनिस्टहरू प्रभावशाली रूपमा उठिरहेकै बेला कम्युनिस्ट पार्टीको जन्म भएको हो । २००६ सालमा पुष्पलाललगायतले जन्माएको नेपाल कम्युनिस्ट पार्टीसँगै त्यसयता सयौँको सङ्ख्यामा कम्युनिस्ट नाम राखिएका पार्टी जन्मिएका छन् र अझै यो क्रम निरन्तर छ ।

अमिबाले अङ्ग छाड्दै अन्य अमिबा जन्माएजस्तो नेपालका कम्युनिस्टहरूले २०२० सालयता अनेक आफ्ना ‘क्लोन’ उत्पादन गरिसकेका छन्। ‘कम्युनिस्ट’ शब्द–मोह किन यति विधि बढेको हो नेपाली राजनीतिक नेताहरूमा ? यसको खोजी गर्दा केही अनुमान लगाउन सहजै सकिन्छ।

कम्युनिस्ट भन्नेबित्तिकै माथि भनिएझैँ ‘मजदुर’, ‘श्रमिक’, ‘गरिब’, ‘विपन्न’, ‘उत्पीडित’, ‘सीमान्तकृत’, ‘दलित’, ‘पिछडिएको’ वर्गको पार्टी भन्ने ‘हुइम’ राजनीतिक वृत्तमा छाडिएको छ । र, संसारमा सबैभन्दा बढी अथवा सीमितबाहेक लगभग सबै मानिस यिनै उल्लिखित वर्ग र समुदायका छन् । यसो हुनुले कम्युनिस्ट पार्टीप्रति यी सबै वर्ग र समुदायको स्वाभाविक आकर्षण बढ्ने भयो, जसका कारण कम्युनिज्म स्थापनार्थ वा कम्युनिस्टलाई सत्तामा पुग्न अवश्य सहयोग हुने भयो ।

‘मजदुर’, ‘विपन्न’, ‘श्रमिक’ र ‘किसान’ अनि ‘सीमान्तकृत’ र ‘उत्पीडित’ वर्ग र समुदायको सत्ताका लागि सहज हुने भइहाल्यो। सायद यही मनोविज्ञानले विश्वभरका कम्युनिस्टहरू ‘कम्युनिस्ट’ शब्दप्रति आकर्षित भए हुन् । तर, त्यसको मर्म र भावनालाई आत्मसात् भने अत्यन्त कम मात्र गरियो, जसका कारण लेनिन, स्टालिन जस्ताले नेतृत्व गरेको सोभियत सङ्घदेखि माओत्सेतुङले स्वतन्त्र गराएको चीनसम्ममा कम्युनिज्म १ शताब्दीसम्म पनि टिक्न सकेन।

यस्तै सुवर्ण अवसर नेपालमा थियो– कम्युनिज्म स्थापनाका लागि । केही समयअघि जब नेकपाको गठन हुँदै थियो, त्यसबेला भरपूर सम्भावना थियो नेपालमा कम्युनिज्म स्थापनाका लागि । तर, दुर्भाग्य ! नेपालमा ‘कम्युनिस्ट’ थिएनन्, ती पार्टीमा शब्द मात्र झुन्ड्याइएको थियो/छ– कम्युनिस्ट। र, नेकपा पुनः छिन्नभिन्न भएसँगै नेकपा एमाले, जो वर्तमानको सङ्घीय संसद्मा ठूलो दल हो, ऊ पनि विभाजित भयो। तर, रमाइलोचाहिँ विभाजित टुक्रोले पनि ‘कम्युनिस्ट’ छाडेन र भन्यो– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ।

अब पछिल्लो समय नेपालका कम्युनिस्टहरूमा ‘समाजवादी’मोह जागेको देखिन्छ । साम्यवादअघिको चरणका रूपमा कार्ल माक्र्सले व्याख्या गरेको ‘समाजवाद’ ‘पुँजिवादी’ नेपाली कांग्रेसले उहिल्यै स्थापनाताका नै आफ्नो मार्गदर्शनका रूपमा स्वीकारिसकेको पाइन्छ। उक्त ‘समाजवाद’प्रति आज आएर नेपालका कम्युनिस्टहरू आकर्षित हुनुले राजनीतिक सैद्धान्तिक विश्लेषणमा नेपाली कम्युनिस्टहरूले ‘साम्यवाद’ असम्भव कल्पना भएको बुझेका र समाजवादको चरणसम्म मात्र समाज पुग्न सक्ने महसुस गरेका भन्न सकिने आधार दिएको छ।

अझ पछिल्लो नेपालको संविधान, २०७२ मा त प्रस्तावनामै ‘समाजवाद उन्मुख हुने’ भनिएको छ । यसमा ‘पुँजिवादी’ कांग्रेसदेखि ‘साम्यवादी’ कम्युनिस्टहरूसम्म सहमत देखिएका छन् । अहिले विगतमा एक भएका, फरक बाटोमा हिँडेका, टुक्रिएका आदि कम्युनिस्ट भनिएका शक्तिहरू एक हुने प्रयासमा छन्। उनीहरूले यसका लागि ‘समाजवाद’ शब्दको सहारा लिएका छन् पुनः– कम्युनिस्टहरूले विगतमा ‘विश्वका मजदुर एक हौँ’ भनेजस्तो । तर, एउटा देशका त के, समाजका वा परिवारका कम्युनिस्ट पनि एक हुन सकेका इतिहास पाउन भने गाह्रो छ।

अहिले नेकपा माओवादीबाट अलग्गिएर आधा दर्जन पार्टी चहार्न लागेका डा. बाबुराम भट्टराई, ‘अस्थिरताका पर्याय’ मानिएका वामदेव गौतम, क्रमशः ओरालो यात्रामा झरिरहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सत्ता गठबन्धनका वाम घटक समाजवादी केन्द्र निर्माणतर्फ अग्रसर बनेका छन्।

केही समयअघि मात्र टुटेफुटेर अलगअलग बसिरहेका प्रचण्ड, वामदेव, नारायणकाजीहरूले ‘खाना वार्ता’सँगै समाजवादी केन्द्रको बहस चर्चामा ल्याए। गत मङ्गलबार मात्र डा. भट्टराईले पनि सामाजिक सञ्जाल ट्वीटरमा समाजवादी केन्द्रप्रति आफू सकारात्मक रहेको सङ्केत गरे । उनले आफूले उठान गरेको मोडालिटीकै आधारमा समाजवादी केन्द्र बन्न लागेको दाबी पनि गर्न भ्याएका छन्।

शुक्रबार पुनः ट्वीटमा भनेका छन्, ‘वैकल्पिक शक्ति निर्माणका लागि २ वा ३ बाटा बताएको थिएँ । एक, पुरानै पार्टीहरूको रूपान्तरण । दुई, विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण । तीन, शून्यबाट नयाँको जन्म। अहिलेको समाजवादी केन्द्रको चर्चा पहिलो र दोस्रोको संयोजन हो है !’

उनको भनाइको आशय प्रस्ट छ– पुरानै पार्टीहरूको रूपान्तरण वा विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण । पुरानै पार्टीमा फेरि पनि हिजोका टुटेफुटेर अलग्गिएका कम्युनिस्टहरू नै भन्न खोजेका हुन् भने विभिन्न पार्टीहरूबाट विचार मिल्नेहरूको ध्रुवीकरण पनि अन्ततः ‘साह्रो ओख्खर’ र ‘ओख्खर साह्रो’ भनेजस्तै हो अथवा विगतका कम्युनिस्ट पृष्ठभूमिकैहरू भन्न खोजेका हुन् ।

यद्यपि, बाबुराम स्वयंले भने ‘कम्युनिस्ट’ परित्याग गरिसकेको बताएका छन् । तर, त्यही कम्युनिस्ट शब्द–मोहबाट मानसिक रूपमा बाहिर जान भने सकेका छैनन् र पुनः ‘कम्युनिस्ट’हरूसँगै अर्को अघोषित कम्युनिस्ट गठबन्धन ‘समाजवादी केन्द्र’मा जोडिन लागेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार जनकपुर पुगेर पनि यही सन्दर्भ दोहोर्‍याए ।

उनले माओवादी केन्द्रसहितका वाम शक्तिहरूको पहलमा समाजवादी केन्द्र बनाइने सङ्केत गरे । तर, त्यस केन्द्रमा नेकपा एमालेलाई संलग्न गराइन्छ कि गराइँदैन ? भनेर कसैले प्रस्ट्ययाएका छैनन् । एमाले, जो आफूलाई पछिल्लो समय नेपालमा कम्युनिस्ट बचाउने, कम्युनिस्ट दर्शनलाई जोगाएर राख्ने एक मात्र पार्टी भएको दाबी गर्छ, (भलै, मदनकुमार भण्डारीले ‘जनताको बहुदलीय जनवाद’का नाममा ३० वर्षअघि नै नेपालको कम्युनिस्ट आन्दोलन विसर्जन गरिदिएका किन नहुन्), यसलाई यस केन्द्रमा नसमेट्ने हो भने प्रस्ट हुनेछ कि एउटा एमालेका विरुद्ध अन्य कम्युनिस्ट घटकहरू ‘यदुवंशी’ उत्तेजना र षड्यन्त्रमा उत्रिएका हुन् ।

उक्त केन्द्र बनाउन लागिपरेकाहरूको तर्क छ– नेकपा एमालेले आफूहरूलाई वामपन्थी शक्ति नरहेको भन्दै प्रचारबाजी जारी राखेको छ । आफ्नो शक्ति देखाउन पनि समाजवादी केन्द्र निर्माण गर्नु जरुरी छ । एमालेले आफूहरूलाई वामपन्थी शक्ति नरहेका भनेर होच्याउन थालेपछि आफूहरू यस दिशामा अघि बढेको उनीहरूको भनाइ छ।

अब यिनै सन्दर्भबाट अनुमान गरौँ– आफूलाई ‘कम्युनिस्ट’ दाबी गरिरहने, ‘कम्युनिस्ट’ ‘जात’भित्रै जात काढ्ने, एकले अर्काको अस्तित्व नै नस्वीकार्ने र कम्युनिस्टको बैसाखी टेकिरहने एकातिर अनि अब कम्युनिस्टको बैसाखीले मात्र धान्दैन भनेपछि पेच–किला जोड्दै ‘समाजवाद’ अगाडि सार्ने यो नौटङ्कीको पटाक्षेप कसरी होला ?

प्रतिक्रिया दिनुहोस्