एक साता ढिलो मनसुन भित्रिए पनि गएको वर्षकै हाराहारीमा रोपाइँ



काठमाडौं : झण्डै एक साता ढिलो गरी मौसम प्रणाली भित्रिए पनि यस वर्ष गएको वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । यही आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । 

गएको वर्षको तुलनामा यस वर्ष ०.९६ प्रतिशतले रोपाइँमा कमी आएको छ । गएको वर्ष यही अवधिमा ९५.३९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको थियो ।

यस्तै आइतबारसम्म प्रदेश नं १ मा ९३.४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेश १ मा गएको वर्ष ९४.४४ प्रतिशत रोपाइँ भएको थियो । मुख्य धान क्षेत्र मानिएको प्रदेश नं २ मा गएको वर्षको तुलनामा झिनो मात्रामा रोपाइँ बढेको छ । प्रदेश नं २ मा गएको वर्ष ९३.१७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९३.३१ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । 

प्रदेश नं ३ मा पनि गएको वर्षको तुलनामा रोपाइँ बढेको छ । गएको वर्ष ९४.२२ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९६.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा भने रोपाइँ घटेको छ । यो प्रदेशमा गएको वर्ष ९६.८७ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष झण्डै आठ प्रतिशतले रोपाइँ खुम्चिएको छ । आइतबारसम्म गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत मात्र रोपाइँ भएको छ । 

यसैगरी प्रदेश नं ५ र कर्णाली प्रदेशमा क्रमशः ९४.३९ र ९६.१६ प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । गएको वर्ष ती प्रदेशमा क्रमशः ९६.१९ र ९८.३९ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने गएको वर्षकै बराबर अर्थात् १०० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । 

    

पूर्व क्षेत्रका तुलनामा पश्चिमी क्षेत्रमा रोपाइँ बढी भएको केन्द्रले जनाएको छ । प्रदेश नं १, २ र ३ मा बढी वर्षा हुने अनुमान गरिए पनि पश्चिमी प्रदेशमा बढ्ता वर्षा भएको मौसम पूर्वानुमान विभागले जनाएको छ । 

पश्चिमी भेगमा वर्षा बढेकाले रोपाइँको प्रतिशत बढेको हो । विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा बढी वर्षा भएको बताउनुभयो । 

गएको वर्षको तुलनामा यस वर्ष मनसुन केही ढिला शुरु भएको थियो । नियमित अवस्थामा जुन १० तारिखबाट नेपालमा मनसुन भित्रिनुपर्नेमा यस वर्ष झण्डै एक साता ढिला मनसुन प्रणालीको विकास भएको विभागले जनाएको छ । ‘यस वर्ष भारी वर्षा नभई औसत वर्षा भएको पाइएको छ’, वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो, ‘समग्रमा मुलुकभर यस वर्ष एक हजार ५०० मिलिमिटर वर्षा भएको छ ।’

कूल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा रोपाइँ गर्न सकिने भए पनि यस वर्ष १२ लाख ९५ हजार २८२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । सिँचाइ प्रणालीको भरपर्दो व्यवस्था नहुँदा अधिकांश क्षेत्रका किसान आकाशे पानीको भर पर्न बाध्य छन् । 

प्रतिक्रिया दिनुहोस्