कोरोना लगाएत अन्य रोगको जोखिम बढ्यो, सचेत रहौ : मन्त्री लामा



हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले पछिल्लो समय देशभर कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढीरहेको अवस्थामा प्रदेशमा पनि संक्रमण दर बढ्दो रहेको बताएका छन् । आज बागमती प्रदेश सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री लामाले पछिल्लो केहि दिन यता कोरोना संक्रमण बढेको र सचेत हुनुपर्ने बताए ।

उनले पछिल्लो समय कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको उपप्रजाती विश्वभर फैलदै गरेको बताउँदै नेपालमा पनि संक्रमण दर बढीरहेको बताए । उनले पछिल्लो दिनहरुमा प्रदेशमा दैनिक २ सय ३४ जनामा कोरोना संक्रमण भइरहेको बताए।

‘पछिल्लो समय कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ उप-प्रजातिहरू विश्वव्यापी रुपमा फैलिदै गए संगै नेपालमा पनि यसको संक्रमण दर बढिरहेको छ । बागमती प्रदेशमा दोश्रो लहर पश्चात दैनिक नयाँ संक्रमितको संख्या घट्दै २० जनाको हाराहारीमा पुगेको अवस्थाबाट हाल पुनः संक्रमण बढ्दै श्रावण ८ गतेको दिनमा आइपुग्दा दैनिक २३४ जना नयाँ संक्रमित पुष्टि भएको छ ।

मन्त्री लामाले भने,कोभिडको कारणले मानवीय क्षतिका साथै आर्थिक, सामाजिक लगाएतका क्षेत्रमा विश्वव्यापीरुपमा अनगिन्ती क्षति पुर्याइरहेको कुरा सर्वविदितै छ । यसको रोकथामको लागि संघीय सरकार संगको समन्वयमा बागमती प्रदेश सरकारले कोभिड बिरुद्धको खोप अभियानलाई तिब्र रुपमा अगाडी बढाई रहेको छ ।’

मन्त्री लामाले संक्रमण दर नियन्त्रण गर्नको लागि प्रदेश सरकारले संघीय सरकारसंगको समन्वयमा कोभिड विरुद्धको खोप अभियान तिब्र रुपमा संचालन गरिरहेको बताए ।

‘२०७८ साल भित्रमा सम्पूर्ण लक्षित जनतालाई कोभिड९१९ बिरुद्दको २ मात्रा खोप उपलब्ध गराउने घोषणा गरे अनुरुप बागमती प्रदेश भित्र सतप्रतिशत लक्षित जनसमुदायलाई कोभिड९१९ बिरुद्दको खोप पुर्याउन सफल भएकोमा सम्पूर्ण खटिने स्वास्थ्यकर्मीहरु र सहयोग पुर्याउनु हुने जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र आम-नागरिकलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ मन्त्री लामाले भने । उनले कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रणको लागि खोपको साथसाथै आम नागरिकहरुमा सचेतना फैलाउन अति आवश्यक रहेको बताउँदै सम्पूर्णमा जनस्वास्थ्यका मापदण्डहरु पालना गन र कोभिड विरुद्धको खोप लगाउन अनुरोध गरे ।

यसैगरी,मन्त्री लामाले विश्व स्वास्थ्य संगठनले मन्कीपक्स रोगलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल घोषणा गरेको बताउँदै नेपालमा पनि उक्त रोग आउन सक्ने भन्दै तयारी अवस्थामा रहन आवश्यक रहेको बताए । ‘हालसम्म नेपालमा यो रोगको पुष्टि भईनसकेको भएतापनि विश्वव्यापी रुपमा फैलदै गरेको यो महामारी नेपालमा पनि नआउला भन्न सकिन्न । त्यसैले यो सम्भावित महामारीको रोकथामको लागि पनि पूर्व तयारी अवस्थामा रहन अति आवश्यक छ । मन्त्री लामाले भने,कोहि पनि व्यक्तिलाई यो रोग संग मिल्दो जुल्दो लक्षण देखिएमा वा शंका लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा सो कार्यको लागि सहयोग गर्न समेत सम्पूर्णमा हार्दिक अनुरोध गर्न चाहन्छु ।’

मन्त्री लामाले प्रदेशमा वर्तमान गर्मी तथा वर्षा याममा देखा पर्ने संक्रामक रोगहरुको पनि जोखिम रहेको बताए । उनले हालै काठमाडौँ उपत्यका तथा अन्य केहि शहरहरुमा झाडापखालाको प्रकोप देखिएको र परीक्षणको क्रममा हैजा समेत देखिएको बताए । उनले पछिल्लो जानकारी अनुसार ३४ जनामा हैजा देखिएकोमा ५ वर्षसम्मका बालबालिकाहरु ३ जना रहेको बताए ।

मन्त्री लामाले प्रदेशमा विगत केहि वर्षदेखी नेपालमा डेंगु, स्क्रब-टाइफस आदि रोगहरु फैलदै आएकोले यो वर्ष पनि यी रोगहरु फैलने सम्भावना रहेको बताए । उनले संक्रामक सरुवा रोगहरुको समयमै पूर्वतयारीका साथ रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाउन पर्ने बताए । मन्त्री लामाले कोभिड-१९ र मन्किपक्स जस्ता विश्वव्यापी महामारी र हैजा, डेंगु, स्क्रब-टाइफस आदि जस्ता मौसमजन्य एवम् उदयीमान रोगहरुको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि संघीय सरकार तथा स्थानीय सरकारसंगको समन्वयमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्