पङ्कज बदलिए तर बदलिएन एन्फा



काठमाडौं । २ दशकदेखि अखिल नेपाल फुटबल सङ्घमा एक छत्र हालिमुहाली गर्दै आएको तत्कालीन अध्यक्ष गणेश थापाको समूहप्रति आक्रामक बन्दै ४ वर्षअघि कर्मा छिरिङ शेर्पाको नेतृत्वमा वर्तमान अध्यक्ष पङ्कजविक्रम नेम्बाङ ‘चेन्ज एन्फा’को चर्को नारासहित नेतृत्वमा आए ।

गणेश थापा समूहलाई सहजै पराजित गर्दै अब एन्फामा सुशासन, सामूहिक निर्णय/नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरण हुने उद्घोष गरे उनीहरूले । यस समूहले पक्कै पनि दशकौँदेखि बेथिति, भ्रष्टाचार र कुशासनको मारमा परेको एन्फालाई शुद्धीकरण गर्नेछ, सही बाटोमा हिँडाउनेछ, संस्थाभित्र सुशासन र पारदर्शिता स्थापित गर्नेछ भन्ने आमअपेक्षा थियो ।

दुर्भाग्य ! नेपाली राजनीतिकै नियतिमा पुग्यो एन्फा क्रमशः । सँगै एक समूह भएर एन्फा बदल्ने अठोट गरेका अध्यक्ष शेर्पा र तत्कालीन उपाध्यक्ष (पछि वरिष्ठ उपाध्यक्ष) नेम्बाङबीचमै नाकको लडाइँ सुरु भयो । दुवैका निकट मानिएका एन्फाका एक सदस्य भन्छन्, ‘राजनीतिक दाउपेच त्यसबेलै सुरु भएको हो २ जनाबीचमा ।’

उनका अनुसार कर्मा पदको दम्भमा उचालिएका थिए भने नेम्बाङ त्यसबेलैदेखि कर्मालाई अर्को कार्यकालमा अध्यक्ष दोहोरिन नदिन ‘खुराफात’ गर्न थालेका थिए । उनी भन्छन्, ‘वास्तवमा नेम्बाङको त्यसबेलैदेखिको बल कर्मालाई कसरी हुन्छ, असफल बनाउनुमा थियो । गणेश थापा समूहलाई दुवै मिलेर पाखा लगाइसकेपछि अब फुटबलको सत्तामा नेम्बाङलाई पुग्नु थियो, उनले त्यही गरे ।’

सामूहिक नेतृत्व र आर्थिक पारदर्शिताको सवाललाई जोडतोडले उठाएको शेर्पा–नेम्बाङ समूह आफ्ना निकट विगतका बाचा (नारा)लाई भुलेर आपसी द्वन्द्व र स्वार्थपूर्ण राजनीतिमा होमियो । एकै समूहबाट नेतृत्वमा बाजी मारेको यो समूह एकअर्कालाई सिध्याउन कम्मर कसेर लाग्यो।उपाध्यक्ष भएको १ वर्षपछि निकै कसरतपछि वरिष्ठ उपाध्यक्ष पड्काएका नेम्बाङ नेतृत्वमा आएसँगै विवादमा पनि मुछिँदै गए ।

तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीप्रतिको नकारात्मक व्यवहारले उनलाई निकै विवादमा तान्यो। अल्मुताइरीले उनकै कारण प्रशिक्षकबाट बिदा लिने अवस्था आयो तर खेलप्रेमी र अन्य दबाबका कारण अल्मुताइरी पुनः फर्किए। कर्मा सत्तामा रहँदा नेतृत्वलाई असहयोग गर्दै आएका, समितिका बैठकमा असहमतिका चाङ हाल्दै ‘नोट अफ डिसेन्ट’ जनाउँदै आएका पङ्कज अहिले आफ्नै विगतका व्यवहार जस्तै आफ्नो टिमका साथीहरूको व्यवहार खप्न बाध्य बनेका छन् ।

‘जस्तालाई तस्तै’ भनेझैँ अहिले नेम्बाङलाई उनकै समूहबाट निर्वाचित उपाध्यक्षहरू लगायत सदस्यहरूले पनि साथ छाड्न थालेका छन्।खेलाडी–प्रशिक्षक विवादलाई टुङ्गोमा पुर्‍याउने सवाल बाँकी नै रहेका बेला नेपाल सुपर लिग (एनएसएल) र असन्तुष्ट ए डिभिजन लिग क्लब विवाद पनि समाधान हुन सकेको छैन ।

रोकिएको राष्ट्रिय लिग, नियमित र व्यवस्थित शहीद स्मारक लिग, रौतहटमा रोकिएको महिला एकेडेमी, कास्कीको भेडाबारीमा टेन्डर आह्वान गरिसकेको बहुउद्देश्यीय खेलग्राम, फिफाले एन्फालाई गरेको आर्थिक नाकाबन्दीलगायत निकै चुनौती बाँकी रहेका बेला नेम्बाङले फुकीफुकी पाइला चाल्नुपर्ने अवस्था विद्यमान छ । तर, नेम्बाङको दाउ अर्कैतिर देखिन्छ । हिजो आफूलाई अध्यक्षमा जिताउन ठूलै भूमिका खेलेका पूर्वअध्यक्ष गणेश थापाको ‘नुनको सोझो’ गरिदिनुपर्ने बाध्यता उनीसँग देखिन्छ ।

यसकै लागि २०७२ सालमा भ्रष्टाचार (आर्थिक अनियमितता)को आरोपमा फिफाबाट १० वर्षे प्रतिबन्ध खेपिरहेका पूर्वअध्यक्ष गणेश थापाका सुपुत्र गौरव थापालाई एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्तिका लागि नेम्बाङमाथि तीब्र दबाब परेको अवस्था छ । सँगसँगै विगतमा कर्माले अन्तर्राष्ट्रिय सम्बन्ध हेर्नेगरी प्रमुख नियुक्त गरेका नवीन पाण्डे, जो जर्मन नागरिक हुन्, उनलाई पुनः निरन्तरता दिनुपर्ने दबाबमा पनि नेम्बाङ देखिन्छन् ।

पाण्डेको नियुक्ति गैरवैधानिक भएको भन्दै एन्फाभित्र तीब्र विरोध भइरहेको छ । हुन पनि एन्फाको विधानमा पाण्डेलाई नियुक्ति दिइएको विभाग वा समिति छैन भने विदेशी नागरिकलाई कुनै पनि विभाग वा समितिमा नियुक्ति दिने प्रावधान पनि विधानमा देखिँदैन । एन्फाको विधानको दफा २४ को उपदफा ३ (क)मा गैरनेपाली नागरिक एन्फा, एन्फाका प्रदेश वा जिल्ला समितिमा निर्वाचित वा मनोनीत हुन नसक्ने प्रावधान छ ।

तथापि, यी दुवै विषयमा उनकै समूहका उपाध्यक्ष र सदस्यहरू लगायत १२ जनाले आपत्तिसहित दबाबपत्र बुझाइसकेका छन् । यसकै कारण दोस्रो पटक बोलाइएको एन्फा कार्यसमिति बैठकसमेत निर्णयमा नपुगी सकियो । त्यसो त अध्यक्ष नेम्बाङले निर्णयमा सहमति नभई पदाधिकारी र सदस्यहरूलाई निर्णयपुस्तिकामा हस्ताक्षर गराउन खोजेपछि पदाधिकारी र सदस्यहरूले आपत्ति जनाएका थिए । ‘सर्वसम्मत निर्णय नभई माइन्युटमा हस्ताक्षर गराउन खोज्नु अध्यक्षको नियत सही होइन’, एक सदस्य भन्छन्, ‘अध्यक्षले केही न केही गलत काम गर्ने तयारीमा छन् भन्ने यसबाट पनि प्रस्ट हुन्छ ।’

‘एन्फा र जिल्लाबीचको सम्बन्ध राम्रो छैन । सबै बिग्रिएको सम्बन्धलाई एउटै मालामा एकजुट भएर सम्बन्ध बनाउनेछौँ । हामी अहिले फिफाको प्रारम्भिक आर्थिक प्रतिबन्धमा छौँ, त्यसलाई फिफासँग कुरा गरेर समाधान गर्नेमा लाग्छौँ’, नेम्बाङले विजयी हुँदा भनेका थिए । तर, उनी स्वयं भने पुनः आन्तरिक लफडा र अमूकलाई नियुक्ति र अमूकलाई पाखा लगाउने दाउमा देखिन्छन् । ३ सहमहासचिव, सहकोषाध्यक्ष र प्रवक्ताको नियुक्तिका लागि नेम्बाङमाथि तीब्र दबाब रहेको एन्फा स्रोत बताउँछ ।

सहमहासचिवमा बद्री भट्टराईलाई र प्रवक्तामा सुरेश शाहलाई नियुक्त गर्ने तयारीमा नेम्बाङ रहेको एन्फा स्रोतको दाबी छ । तर, यसमा बहुमत पदाधिकारी र सदस्य सहमत नभएपछि अध्यक्ष नेम्बाङ धर्मसङ्कटसँगै विवादमा पर्न थालेको एक पदाधिकारी बताउँछन् । यी उनैले बुझेका र भोगेका समस्यामा उनको टाउको दुखेको छैन । एक पूर्वफुटबल खेलाडीको तीखो प्रतिक्रिया छ, ‘एन्फा बदल्छु भन्ने पङ्कज आफू बदलिए, उपाध्यक्षबाट वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष पनि भए तर एन्फा कहिल्यै बदलिएन ।’

एन्फामा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, ४ मध्ये ३ उपाध्यक्ष आफ्नै नेम्बाङकै समूहका छन्। ६ सदस्यमा समेत नेम्बाङ समूहकै छन्। कार्यसमितिमा बहुमत आफ्नै समूहको रहेका बेलासमेत आफ्नै समूहलाई मिलाएर, सहमत गराएर अघि बढ्न नसक्नु नेम्बाङको असफलताको सुरुवात भनेरसमेत टिप्पणी हुन थालेको छ । विगतमा २ वटा मात्र समूह रहेको एन्फामा नेम्बाङ नेतृत्वमा आएपछि ३ वटा समूह बनेका पनि बताइन्छ ।

तथापि, नेतृत्वमा आएको १ महिनामै यस्तो टिप्पणी उपयुक्त नहुने एक पदाधिकारी बताउँछन् । उनी भन्छन्, ‘समस्या नेतृत्वमा पनि छ, संस्थाभित्र पनि धेरै समस्या छन् तर अहिल्यै निर्वाचित भएको १ महिना पनि नबित्दै यस्तो आलोचना स्वाभाविक होइन ।’

प्रतिक्रिया दिनुहोस्