संसदको विशेष समय : सांसदहरुको गुनासै गुनासो  



काठमाडौं : प्रतिनिधिसभाको मङ्गलवारको बैठकको विशेष समयमा सांसदहरूले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले भौतिक पूर्वाधार विज्ञहरूले नेपाली सेनाको  बदनाम गर्न खोजेको आरोप लगाइन् ।

उनले विज्ञहरूले आफूहरूले डिपिआर तयार गर्न नसकेको तर विदेशी कम्पनीले तयार पारेको डिपिआरमा नेपाली सेनाले काम गर्दा खोट मात्र लगाएको बताइन् । उनले फाष्ट्रयाकलाइृ छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् ।नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी लगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत संभारको लागि सरकारको ध्यानाकर्षण गराए ।

सितापाईला–रामकोट–भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपार्टी हुँदै बौद्ध जाने लगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्ने तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । उनले साईकल लेनहरुको अभावका कारण काठमाडौंमा साईकल चढ्ने नागरिकले पनि दुःख पाइरहेको उल्लेख गर्दै साइकल लेनको उपयुक्त व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

यस्तै बैठकमा नेपाली कांग्रेसका सांसद देव प्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएकोबारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्दै शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यानाकर्षण गराए । सांसद भीमसेन दास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए । उनले विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराए । राजपाका सांसद अमृता अग्रहरिले आफुहरुको माग सम्बोधन नगरे सरकार विरुद्ध सडकमा उत्रने चेतावनी दिए ।

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक प्रतिबद्धता जाहेर गरेर पनि अहिले सम्म सार्वजनिक नभएको भन्दै उनले मुलुकमा विद्रोहलाई निम्ता दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराए । संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरित रहेको भन्दै असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता के का लागि आयो भनी प्रश्न गरे ।

उनले आरक्षण बचाउ अभियान अन्तर्गतको  शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकोमा गम्भीर आपत्ति जनाउँदै उनले अधिकारको लडाई जारी राख्ने चेतावनी समेत दिए । नेकपाका सांसद मोहन बाँनियाले मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ३ को भवन र केन्द्रको बारेमा सांसद प्रकाश रसाईली स्नेहीले गलत सूचना दिएको भन्दै आफ्नो भनाई फिर्ता लिन ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्