बाफलकाे एक संस्थामा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार



काठमाडौं : काठमाडौंको बाफलमा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार गरिएको छ ।

बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएपछि बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको पाइएको हो ।

वैधानिक हैसियत नदेखिएको संस्थाले बालबालिकालाई मापदण्ड विपरीत राखेको पाइएको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले जानकारी दिए ।  ‘स्थानीय प्रहरी र वडाध्यक्षलाई बोलाएका छौं, अब उनीहरुको उद्दार गर्छौं’ उनले भने ।

केसीले भने, ‘यहाँ बालबालिकाको अवस्था दयनीय देखियो, उनीहरुको कसैले जिम्मा नलिएको देखियो । जिम्मा लिने संस्था सीडीओ कार्यालयमा दर्ता भएको पनि देखिएन’ केसीले भने, ‘एब्युजको कुरा पनि आएको छ, यो गम्भीर हो ।’

संस्थाको रेकर्डमा १५ जना बालबालिका रहेको देखिए पनि संस्थामा ९ जनामात्र भेटिएका छन् । बालबालिकालाई पढाउने भनेर ल्याएको तर पढ्न नपाएकोसमेत बालबालिकाहरुले बताएका छन् । अन्य ६ बालबालिकाबारे खोजी भइरहेको बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्