नलसिंङगाड परियोजनाबारे उर्जामन्त्री पुन र जापानी राजदूतबीच छलफल 



काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको थियो।

भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना प्रादेशिक सन्तुलनका हिसाबले पनि महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा छलफल गरे। उनले जापान र नेपालबीच पुरानो र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखी नलगाडसम्म जापानले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे।

मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागी उपयुक्त वातावरण बनेकोले लगानीको लागी जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसंग आग्रह गरे। भेटमा जापानी राजदूतले नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा अध्ययन गरिरहेको जानकारी दिए।

उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिँदै सो क्रममा दुई देशको सम्बन्धका साथै उर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए। जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगनीका लागी राम्रो वातावरण वनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागी आफुले अपिल गर्ने बताए।

राजदूत साइगाले भारत र बंगलादेशसंग सहमती भएको क्रस बोर्डर प्रशारण लाइनबारे समेत चासो व्यक्त गरेका थिए। जवाफमा मन्त्री पुनले भारतसँग क्रस बोर्डर ट्रेडको विषयमा राम्रो वातावरण वनेको र गत वर्ष मात्र ७ करोड र यो वर्ष २५ करोडको बिजुली भारतमा निर्यात भएको जानकारी दिए।

उनले बंगगलादेशसँग पनि डेडिकेटेट लाइन र भारत हुँदै बंगगलादेशसँग पनि विद्युत व्यापार गर्ने विषयमा सहमती भएको भन्दै लगानीको लागी वातावरण बनाइदिन आग्रह गरे। नलसिंङगाड परियोजना पिपिपी मोडलमा बनाउने गरी हाल जापानले अध्ययन गरिरहेको छ।

उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापानी विकास नियोग जाइकाको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम छ। जापान भ्रमणकै क्रममा उनले आफ्ना समकक्षीसँग समेत उक्त परियोजनाका विषयमा छलफल गर्ने तयारी छ।  

प्रतिक्रिया दिनुहोस्