रवि लामिछानेका १४ जना समर्थकविरुद्ध मुद्दा दर्ता



काठमाडौं : रवि लामिछाने रिहाइको माग गर्दै प्रदर्शनका क्रममा पक्राउ परेका १४ जनाबिरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ। प्रदर्शनका क्रममा पक्राउ परेका २३ जनामध्ये १४ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

प्रदर्शनलाई भड्काउन खोज्ने, प्रहरीमाथि नै जाइलाग्ने र भिडलाई उत्तेजित पार्ने कार्य गरेको हुनाले उनीहरूलाई मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए। प्रहरीले साउन ३२ गते ४ जना, भदौ २ गते १० जना र मंगलबार ९ जनालाई पक्राउ गरेको थियो।

शालिकराम पुडासैनीले झुण्डिएर आत्महत्या गरेपछि लामिछानेसहित अन्य दुई जना यतिखेर अनुसन्धानका लागि हिरासतमा छन्। पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछानेलाई फसाउन खोजिएको आशंकामा प्रदर्शन भएको थियो।

प्रतिक्रिया दिनुहोस्