प्रधानमन्त्री ओलीसँग सहयोग गर्न भारतीय समकक्षीको आग्रह



काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिर मुद्दामा सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरले प्रधानमन्त्री ओलीसँगको भेटमा भारतका प्रधानमन्त्री मोदीले कश्मिर मुद्दामा सहयोग गर्न सन्देश पठाएको बताएका थिए । कश्मिर मुद्दामा नेपाल अहिलेसम्म तटस्थ छ ।

‘जम्मु कश्मिरको विषयमा भारत सरकारले चालेको कदमप्रति प्रधानमन्त्री मोदीले नेपालको पूर्ण समर्थन चाहानुभएको छ’, बालुवाटार स्रोतले प्रधानमन्त्रीसगँको भेटमा भारतीय विदेशमन्त्री जयशंकर भनेको भनाई उद्धृत गर्दै भन्यो । 

कश्मिर मुद्दामा नेपालको तटस्थतालाई भारतका प्रधानमन्त्री मोदीले सकारात्मक रुपमा लिएको समेत विदेशमन्त्री जयशंरले प्रधानमन्त्री ओलीलाई बताएका थिए ।  विशेषाधिकारसहित छुट्टै राज्यको रूपमा रहेको जम्मू–कश्मीरको विशेष मान्यता खोस्दै केन्द्र शासित क्षेत्रको रूपमा विभाजित गरिएको थियो । अहिले त्यहाँ लगाइएका चर्का प्रतिबन्धहरूलाई भारतको संघीय संरचना कमजोर बनाउने कदमको रूपमा हेरिएको छ । नयाँ केन्द्रशासित क्षेत्रहरू जम्मू तथा कश्मीर र लद्दाखमा अहिले दिल्लीको प्रत्यक्ष शासन छ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले ओलीको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेको सन्देश विदेशमन्त्री जयशंकरले सुनाएका थिए । ‘यहाँको पूर्ण स्वास्थ्य लाभको कामना हाम्रो प्रधानमन्त्रीको छ,’ जयशंकरले भनेका थिए । 

भारतीय राष्ट्रपती रामनाथ कोबिन्दको नेपाल भ्रमणको विषयमा पनि कुराकानी भएको स्रोतले बतायो । त्यस्तै हालै निर्माण सम्पन्न भएको पाईपलाइन दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने सन्दर्भमा समेत छलफल भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्