फिडेल क्यास्ट्रोको गोहीले आक्रमण गरेर घाइते बनायो वृद्धलाई



एजेन्सी : क्युबाका नेता फिडेल क्यास्ट्रोले कुनै बेलामा पालेको एउटा गोहीले स्विडेनमा एकजना वृद्धमाथि आक्रमण गरेको छ। मंगलवार राति  राजधानी स्टकहोमको स्कानसेन एक्वारियममा आयोजित पार्टीमा ती व्यक्तिमाथि आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन्। 

प्रहरीका अनुसार, ती व्यक्तिले गलत ठाउँमा हात राखेकाले एउटा गोहीले हात टोकिदिएको थियो। उनको हातमा बेस्सरी पट्टी बाँधेर अस्पताल लगिएको थियो। तर उनलाई कत्तिको घाउ भएको हो भनी खुलेको छैन।

अनुसन्धान अधिकारीहरूले उक्त व्यक्ति, चिडियाखानाका कर्मचारी र प्रत्यक्षदर्शीहरूसँग घटनाको विषयमा सोधपुछ गरेका छन्। यस्तो घटना पहिलोपटक भएको एक्वेरियमले बतायो।स्कान्सेनमा दुईवटा क्युबाली गोही छन् र ती अत्यन्तै दुर्लभ तथा आक्रामक गोहीका प्रजाति हुन्। उनीहरूको नाम क्यास्ट्रो र हिलारी हो। 

क्युबामा जन्मेका ती गोहीलाई क्यास्ट्रोले रुसी अन्तरिक्षयात्री भ्लादिमिर शातालोभलाई उपहार दिएका थिए। शातालोभले गोहीहरू ठूला भएपछि मस्कोको चिडियखानालाई दिएका थिए।

त्यहाँ गोही राख्ने राम्रो ठाउँ नभएपछि तिनलाई स्कान्सेन सारिएको थियो। क्युबाली गोहीहरू ८० वर्षको उमेरसम्म बाँच्न सक्छन् र जिन्दगीभरि बच्चा पाइरहन्छन्।

प्रतिक्रिया दिनुहोस्