गैंडाको छालामा आफ्नो नाम कोतर्ने व्यक्तिको कठोर आलोचना



एजेन्सी : फ्रान्समा चिडियाखाना भ्रमण गरेर एक गैंडाको छालामा आफ्नो नाम कोतर्ने दुई व्यक्तिको कठोर आलोचना गरिएको छ। गैंडाको छालामा जुली र कमिल नाम कोतरिएको थियो। ला पाल्मीर नामक चिडियाखानाका पर्यटकले देखाएको मूर्खता र असम्मानबाट आफूहरू क्रुद्ध भएको चिडियाखानाका अधिकारीहरूले बताए। 

नौएल नाम राखिएकी पोथी गैंडाको छालामा उनीहरूले नङले कोतरेर आफ्नो नाम लेखेका थिए। पाल्मीर चिडियाखानका पीएर काइलले भने, ‘कसैले गैंडाको मृत छालाको माथिल्लो पत्रमा नङले कोतरेछ । यो सम्मानमा आघात हो तर पोथी गैंडाले के भएको थाहा पाइन र उसलाई पीडा पनि भएन।

हामीहरू अब चिडियाखानामा स्याहार गर्ने मानिसको संख्या बढाउँछौं। यो नदोहोरिने सुनिश्चितता हामी गर्छौं।’ यसमा कानूनी कारवाही भने नचलाइने चिडियाखानको भनाइ छ। 

चिडियाखाना आउने अधिकांश पर्यटकहरूले सम्मानपूर्वक गैंडालाई छुने गरेका छन्। फ्रान्सेली वन्यजन्तु संरक्षण च्यारिटी ल बायोमले मानिस र गैंडाबीच यसरी निकटताको अवसर दिनु मापदण्डमुनिको काम भएको बतायो। गैंडाको छालामा नाम कोतरिएको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आक्रोश छ।

प्रतिक्रिया दिनुहोस्