बैंकको खुद नाफा ६२ प्रतिशतसम्म बढ्यो



काठमाडौं । बैंकिङ प्रणालीमा तरलता समस्या देखिए पनि आर्थिक वर्ष २०७८/०७९ मा वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य वृद्धि भएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा नाफा वृद्धि भएको देखिएको हो ।

नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनको अवधिमा १ दर्जन वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। वाणिज्य बैंकहरूको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकहरूको न्यूनतम् खुद नाफा करिब २ अर्ब रुपैयाँ रहेको छ। वित्तीय विवरण सार्वजनिक भएकामध्ये अङ्कका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले नाफा गरेको देखिएको छ।

उक्त बैंकले गत आर्थिक वर्षमा २५ प्रतिशतले नाफा वृद्धि गर्दै ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद आम्दानी गरेको छ । यस बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको थियो । झण्डै २ दर्जन वित्तीय संस्थालाई गाभेर देशकै ठूलो वित्तीय संस्था बन्ने दौडमा रहेको ग्लोबल आइएमईको पछिपछि अरु बैंक पनि रहेका छन् ।

हालसम्मको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा सबैभन्दा कम लक्ष्मी बैंकले नाफा आर्जन गरेको छ। सो बैंकले १ वर्षमा १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। लक्ष्मी बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा जम्मा १ दशमलब ७६ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, एनआईसी एसिया बैंकले ४ अर्ब ५२ करोड ६४ लाख २२ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ, प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। एभरेस्ट बैंकले २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ कमाउँदा सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले क्रमशः २ अर्ब २९ करोड २९ लाख ९ हजार र २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब २५ करोड ११ लाख ७१ हजार, माछापुच्छ्रे बैंकले २ अर्ब १६ करोड ९ लाख रुपैयाँ कमाएको छ । र सन्राइज बैंकले २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एनसीसी बैंकले २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

प्रतिशतका आधार सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ६२ दशमलब २७ प्रतिशत नाफा वृद्धि गरेको छ। अघिल्लो आवमा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

एनसीसी बैंकले उच्च नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा यस बैंकले करिब ५२ प्रतिशत नाफा वृद्धि गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ नाफा रहेको थियो।

त्यस्तै, प्रभु बैंकको पनि ५१ प्रतिशतभन्दा बढी नाफा वृद्धि भएको छ। सन्राइज बैंकले ४८ दशमलब ६९ प्रतिशत, एभरेष्ट बैंकले ४३ दशमलब ७७ प्रतिशत र एनआईसी एसिया बैंकले ३८ दशमलब ८६ प्रतिशत नाफा वृद्धि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्