लागूऔषध नियन्त्रणका लागि ‘म अघि बढ्छु’ 



मोहम्मद सदरुल

काठमाडौं : सोच्ने क्षमतालाई शून्य बनाउने लागूऔषध नियन्त्रण एवं रोकथाम गर्न प्रदेश सरकारले महत्वपूर्ण अभियान सञ्चालन गरेको छ । सगरमाथा टिन्स क्लबमार्फत ‘म अघि बढ्छु’ अभियान खासगरी प्रदेशका दुई हजार विद्यालयमा कार्यक्रम सञ्चालन गरी दुई लाख विद्यार्थीलाई यसका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको छ । प्रदेशभरिमा लगभग २० हजार युवायुवती लागूऔषधमा नराम्रोसँग फसेका छन् । 

यसको सेवनले सेवन कर्तामात्र होइन परिवारजन र समाजमा पनि भयावह स्थिति सिर्जना गर्दछ । शरीर गलाउने, विकृति र विसङ्गतिको बाटोमा लैजान प्रेरित गर्ने, झग्डालु स्वभाव हुने र एकाग्र देखिने युवा युवतीलाई यो अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकाले यो अभियान सञ्चालन गरेको हो । लक्षित वर्गलाई सञ्चालन भएको यो अभियानबाट लागूऔषधका सेवनकर्तालाई असल बाटो हिँडाउन र नयाँलाई रोक्न सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । 

प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चालन भएको यो कार्यक्रम केही दिन पहिला प्रदेशका १ सय ५० विद्यालयमा एकैसाथ कार्यक्रम शुभारम्भ भएको हो । लागूऔषध प्रदेश नं १ मा पूर्व तर्फ झापाको काँकरभिट्टा सिमानामा पर्ने भारतको बजार पानीटङ्याकी, भद्रपुर नजिकै रहेको भारतको बजार गलगलिया र मोरङको विराटनगर महानगरपालिकासँग जोडिएको भारतको बजार जोगबनी र सुनसरीको भण्टावारीस्थितका बजार भीमनगर नाकाबाट बढी भित्रिने गरेको प्रहरीको अनुसन्धानमा छ ।

महेन्द्रराजमार्गको काँकरभिट्टा, दमक, इटहरी, धरान र विराटनगर आसपासका क्षेत्रमा बढी प्रयोग हुने लागूऔषध पहाडी जिल्लामा पनि यसको प्रयोग हुने र यसका लागि त्यस्ता युवा यस क्षेत्रमा आएर लागुऔषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । मोरङमा लागूऔषध प्रयोग गर्ने एक हजार ३ सय ७६ जनामा महिला एक प्रतिशत अर्थात १३ जना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागूऔषध क्षेत्रमा कार्यरत संस्था रिचमण्ड फेलोशिपका अध्यक्ष सञ्जीव चापागाईले मोरङमा लागूऔषध सेवनकर्ता छ हजार ४ सय १५ जना रहेका जानकारी दिए । 

लागूऔषध सेवनकर्तालाई तीन महिनासम्म तालिम एवं सचेतना गराई पुनःघरपरिवारमा पुनःस्थापना गराउने उद्देश्य रहेको उक्त संस्थासँगै यस क्षेत्रमा कार्य गर्ने अझै आठ वटा संस्था रहेका अध्यक्ष चापागाईले जानकारी दिए । मोरङमा गएको तीन महीनामा लागूऔषधका ४२ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्षमा सो अवधिमा ९७ मुद्दा दर्ता भएका प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । लागूऔषध सेवन गर्नेले निराशाका कारण, तनाव र पीडा विर्सन, अत्यन्त सुख महसुस गर्न लागूऔषध सेवन गने गरेको बताउने गरेका छन् ।

लागूऔषधको असर बारेमा सेवनकर्ताले केहीले अलिअलि थाहा भएको, केहीले थाहा नभएको, कसैले राम्रो जानकारी भएको प्रतिक्रिया दिने सेवनकर्तामध्ये एक पटक सम्पर्क आउने ७ सय ८ जना, दुई पटक सम्पर्कमा आउने ४ सय १५ जना र तीनभन्दा बढी पटक सम्पर्कमा आउने ४४ जना रहेका उपरीक्षक अधिकारीले बताए । लागूऔषध प्रयोगका लागि खर्चको व्यवस्थापन साथीभाई, परिवारबाट, आफ्नै आम्दानीबाट गरिहेको सेवनकर्ताको सिकाइ ९५ प्रतिशतले दुव्र्यसनीबाट र पाँच प्रतिशतले टेलिभिजनबाट सिकेको जानकारी दिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

सुँघेर, खाएर र सिरिञ्जको माध्यमबाट प्रयोग हुने लागूऔषध सेवनकर्ताले दुव्र्यसनी साथीभाई, लागूऔषध विक्रेताबाट, औषधि व्यवसायीबाट प्राप्त गरिरहेका छन् । सेवनकर्ताले लागूऔषध ३२ प्रतिशत नेपालमै र ६८ प्रतिशतले भारतबाट प्राप्त गर्ने गरेको रहस्य प्रहरीको अनुसन्धानमा देखिएको छ । डाईजोपामलगायत औषधिजन्य लागूऔषध, गाँजा चरेश, अन्य सेन्थेटिक र हिरोइन जस्ता लागूऔषध सेवन गर्नेको शैक्षिक योग्यता कक्षा १ देखि ५ का २ सय ३६ जना, कक्षा ६ देखि १० का ७ सय ५४ जना, कक्षा ११ देखि १२ का १ सय ७७ जना, स्नातकका १ सय ६४ जना र अन्यप्राविधिक योग्यता भएका ४५ जना फेला परेका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

सम्पर्कमा आएका सेवनकर्तामा मजदूर ५ सय ४४, चालक एवं सहचालक १ सय ६८, विद्यार्थी १ सय ३६, वैदेशिक रोजगारीमा रहेका ९१, बेरोजगार ७४ र कृषि पेशा अंगाल्ने २६ जना रहेका छन् । धर्मका आधारमा सेवनकर्तामध्ये हिन्दू १ हजार १ सय ४९, बौद्ध १३०, सबैधर्म मान्ने ३४, मुस्लिम ३३, क्रिश्चियन १९, किरात ७ र इसाई धर्म मान्ने ४ जना छन् भने उमेरका हिसाबले १२ देखि १५ वर्षका १२, १६ देखि २५ वर्षका ८ सय ३३, २६ देखि ४० वर्षका ५ सय ४ र ४१ देखि ५० वर्षका २४ जना देखिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्