डाक्टर भन्छन्,‘मानिसको भन्दा कुकुरको दिसापिसाब बढि घातक’



काठमाडौं : केही मानिसहरु सोखले कुकुर पाल्छन् भने केहीले देखासिकीमा। कुकुर पाल्नु नराम्रो पनि होइन। कुकुरलाई हामी असर र इमान्दार साथी मान्दै आएका छौँ । त्यति मात्र होइन घरको सुरक्षाका लागि पनि महत्वपूर्ण हुन्छ। तर, यसरी पाल्दा हामीलाई कस्तो खालको असर गर्छ र आफू कसरी सुरक्षित रहन सकिन्छ यो विषयमा पनि जान्न जरुरी हुन्छ।

काठमाडौंं महानगरमा मात्र घर पालुवा कुकुर करिब ८० हजारको हाराहारीमा रहेको छ भने २२ हजार सामुदायिक कुकुरहरू रहेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले जनाएको छ। आधुनिक जिवनसँगै सहरहरूमा कुकुर पाल्नेहरूको संख्या पनि बढ्दै गएको छ।

हरेक दिन बिहान र बेलुकाको समयमा घरमा पालेका कुकुरहरूलाई दिसा, पिसाबका लागि खुल्ला चौर तथा घर बाहिर ल्याएर गराउने धेरैको बानी छ। हामीले देख्न सक्छौ कि कुकुर डोर्‍याएर दिसापिसाब गराएर हिँडिरहेका हुन्छन्। सहरहरूमा अहिले गाईभैँसी पाल्न बरु लाज मान्छन्। सोच्छन्, गरिब, दुखी, नपढेकाले मात्र पाल्ने हो।

पढेलेखेका, जागिरेहरूले त कुकुर पाल्ने हो। उनीहरू शान दिएर कुकुरलाई बाहिर बाहिर  दिसापिसाब गराउँदै हिँडिरहेका हुन्छन्। कुकुरहरूलाई यसरी बाहिर दिसापिसाब गराउँदा मानव स्वास्थ्यमा कस्तो खालको असर पार्छ यसतर्फ भने कसैको ध्यान गएको देखिँदैन।

‘यो विषयलाई कसैले पनि गम्भिरताका साथ लिएको पाइँदैन । तर, मान्छेको दिशाभन्दा घरपालुवा कुकुरको दिसापिसाबमा कयौँ गुणाबढि फेसल कोलिफर्म ब्याक्टेरिया हुन्छ र मानव स्वास्थ्यलाई धेरै असर गर्छ। हाम्रो जस्तो देशमा यसको विषयमा अध्यान भएको मलाई त्यति धेरै थाहा छैन। तर अरु विकसित देशहरूमा भने अध्यान भएको पाइन्छ।’ वातावरणविद् डा. मदन कोइराला भन्छन्, ‘अब यसरी जथाभाबी दिसापिसाब गराउँदा सरुवा रोगहरू लाग्ने धेरै सम्भावना हुन्छ। त्यसकारण पनि यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको छ। अध्यानहरु हुनु र आम मानिसले कस्तो असर गर्छ भन्ने कुरा थाहा पाउनु जरुरी छ। अब यस सम्बन्धि यति धेरै अनुसन्धान नभएकोले योभन्दा बढि भन्न सक्ने अवस्था छैन अहिले।’

एउटा कुकुरले मात्र वर्षको औसत २ सय ७४ पाउन्ड (एक लाख २४ हजार दुई सय ४ ग्राम) दिसा गर्ने एक अध्यनले देखाएको छ। कुकुरको एक ग्राम दिसामा २ लाख ३० हजार फेसल कोलिफर्म ब्याक्टेरिया हुन्छन्। एउटै कुकुरको दिसा जथाभाबी फालियो भने एक वर्षमा २ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिन्छन्।

एउटै कुकुरको दिसा जथाभाबी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिन्छन् । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अन्डा मानिसको शरीरमा प्रवेश गर्छन्। बाहिर दिसापिसाब गर्दा यसै फोहोर हुने र दिशामा धेरै घातक खालका परजीवीहरू हुने वरिष्ठ पशु चिकिल्सक मोदनाथ गौतमले बताए।

‘कुकुरको दिसाबाट मानिसमा खासगरी परजीवी जुका तथा पाचनप्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिस जस्ता रोग लाग्न सक्छ। कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाका अण्डा हुन्छ र मानिसले खाने खानेकुरामा लाग्यो भने  मानिसका महत्त्वपूर्ण अङ्गहरू कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित हुन्छ। योसँगसँगै ह्विपवर्म, हुकवर्म, तथा राउन्डवर्म जस्ता परजीवी पनि सर्न सक्छन्। अर्को जोखिम ब्याक्टेरियाको सङ्क्रमण पनि हो। कुकुरको पिसाबबाट यदि खानेपानीको स्रोतमा प्रदूषण हुन पुगेको खण्डमा यसले मानिसलाई गम्भीर असर पुर्‍याउन सक्छ। यसबाट मिर्गौलामा गम्भीर असरका साथै कसैकसैमा मेनिन्जाइटिस पनि गराउन सक्छ।’

उनले भने, ‘करेसाबारीहरूमा पनि दिसापिसाब गरिरहेका हुन्छन् र हामीले ती करेसाबारीका गाजर मुलाहरूलाई सलादको रूपमा लिएर खादा झाडापखाला, बान्ता, ज्वरो आउन सक्छ। अब हामीले यसरी घर बाहिर दिसा गराउँदा मानिसहरूले कुल्चिएर किचनसम्म आउने, बच्चाहरू खेलिरहेका हुन्छ, उनीहरूलाई पनि समस्या हुनाले पनि घरभित्रै दिसापिसाव गराउनु पर्छ।’

यस्ता समस्याबाट बच्न घरभित्रै शौच गराउने, सामुदायिक कुकुरहरूलाई व्यवस्थापन गर्ने, सबै निकायले यसप्रति ध्यान दिने, घर पालुवा कुकुरहरूलाई घरभित्रै शौच गराउने नभए उनीहरूको दिसालाई जमिनमा गाड्दा पनि केही हदसम्म सुरक्षित रहन सक्ने उनले बताए। यस्तो विकराल स्थित रोक्न सम्बन्धित निकायले दीर्घकालीन प्रत्यस गरेको अहिलेसम्म खासै देखिएको छैन।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले एउटा सार्वजनिक सूचना निकालेर पालुवा कुकुरहरूलाई घरभित्रै दिसा पिसाब गराउन अनुरोध गरेको छ। यदि बाहिर शौच गराएको भेटाएमा कारबाहीसम्म गर्ने चेतावनी पनि दिएको छ। यसरी घरपालुवा कुकुरलाई घरभित्रै दिसापिसाब गराएर दिसापिसाब कम हुन्छ त? भन्ने प्रश्न आउन सक्छ ।

प्रश्न उठ्नु स्वाभाविक पनि हो किनकि सामुदायिक कुकुरहरू पनि त्यतिकै मात्रामा छन्।  कुकुरको त के कुरा गर्नु मानिसको दिसा त व्यवस्थापन भएको पाइँदैन उपत्यकामा। चेतनशील प्राणी मानिसको दिसापिसाब व्यवस्थापन गर्न नसककेको महानगरलाई कुकुरको दिसापिसाब व्यवस्थापन गर्न निकै चुनौती पनि रहेको छ।

‘यो विषय धेरै चुनौतीको विषय हो र गम्भीर विषय पनि हो। किनकी उपत्यकामा आधुनिक जीवनशैलीसँगै घरमा कुकुर पाल्नेको संख्या उतिकै मात्रामा बढ्दै गएको छ भने सामुदायिक कुकुरहरूको पनि विगविगी छ। यसको दिसापिसाबले स्वास्थ्यमा गम्भीर असर गर्छ।’ काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, ‘त्यसैले पनि अहिले घर पालुवाका कुकुरको हकमा हामीले घर भित्रै दिसापिसाब गराउन जनचेतना जगाएका छौँ भने सुचना पनि निकालेका छौ।’ अब सामुदायक कुकुरको हकमा बन्ध्याकरण गरेका छौ। अब यतिले मात्र त सम्भव हुँदैन । यसका लागि छलफल गरिरहेका छौ।’

उनले यति बाहिर दिसापिसाब गराएको पाइएमा दण्ड जरिवाना गर्ने बताए। अहिले अनुगमन गर्न म्यानपावर नभएर अनुगमन नगरेको र अब छिट्टै अनुगमन गर्ने आश्वासन पनि दिए। अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाए सम्बन्धित कुकुर धनीविरुद्ध कारबाही गर्ने गरी तयारी गरेको छ। मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारवाही तयारी थालेको हो।

 

प्रतिक्रिया दिनुहोस्