सय सिट राखेर गठबन्धन गर्न नेतृत्वलाई सुझाव



काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुले ५ दलीय गठबन्धनमा सिट बाँडफाँटका लागि गठन भएको कार्यदललाई छलफल गरेर कांग्रेसलाई लाभ हुने गरि टुंगोमा पुग्न नेतृत्वलाई सुझाव दिएका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा नेताहरुले स्थानीय तहको चुनाव र कांग्रेसको अवस्थालाई ध्यानमा राखेर अघि बढ्न सुझाव दिएका हुन् ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यक परे कार्यदललाई शीर्ष नेतृत्वले सहयोग गर्ने बताएका छन् । उनले गठबन्धन कायम राखेर अघि बढ्न समेत नेताहरुले सुझाव दिइएको बताएका छन् ।

तर, बैठकमा सहभागी एक नेताका अनुसार पदाधिकारी र पूर्वपदाधिकारीहरुले स्थानीय तहको निर्वाचनमा कांग्रेसले प्राप्त गरेको मत परिणामलाई समेत आधार मानेर १ सय सिट भन्दा कम हुने गरि बाँडफाँट नगर्न सुझाव दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको मत र जनताको कांग्रेस प्रतिको विश्वासलाई आधार मानेर १६५ मध्ये १ सय सिटमा कांग्रेसले दाबी छाड्न मिल्दैन भन्ने नेताहरुको मत रहेको उनको भनाई छ ।

साथै बैठकमा कतिपय नेताहरुले भने त्यसभन्दा तल झरेर गठबन्धन गर्नु पर्ने अवस्था आएको खण्डमा कांग्रेस कडा रुपमा प्रस्तुत हुनु पर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्