निर्माण रोक्ने ठेकेदारलाई तह लगाउने यातायातमन्त्रीको चेतावनी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकदारहरूलाई तह लगाउने चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरूलाई तह लगाउने चेतावनी दिएका हुन् ।

उनले मन्त्रालयले त्यस्ता ठेकेदारहरूको खोजी भई रहेकाले बिस्तारै ठिक लगाउने बताएका छन् । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरूलाई सरकारले नछोड्ने बताए ।

उनले सरकारकाले कुनैपनि नेताको नजिकको ठेकदार भएपनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए । उनले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताएका छन् ।

मन्त्री राईले मन्त्रिपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भई रहेको दाबी गरेका छन् ।

मन्त्री राईले कहीँ कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । उनले वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरू राखेर लागू गरिएको बताएका छन् ।

त्यस्तै नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकास निर्माणमा तहगत समन्वयको अभाव रहेको बताएकी छन् । उनले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन संघीयताले सजिलो भएको बताइन् ।

भट्टराईले संघीयताले जिम्मेवार बनाउनुपर्ने तर गैरजिम्मेवार बन्नको लागि संघीयताले ठाउँ दिएको बताएकी छन् । उनले सार्वजानिक सवारी साधनको भाडादर स्वचालित नभएर स्वच्छन्द भएको टिप्पणी गरेकी छन् ।

त्यस्तै नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संघीयता आएसँगै स्थानीय सरकारहरूले डोजर आतंक मच्चाएको कारण सडकमा ठूलो समस्या भोगेको बताएका छन् । बैठकमा अधिकांश सांसदहरुले विकास निर्माणको काममा तीनै तहले समन्वय गरेर काम नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्