प्रदेश २ लाई अर्गानिक स्टेट बनाउछौं : कृषि मन्त्री



दिनेश्वर गुप्ता

लहान : प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशलाई कृषिमा नमुना बनाउँन सिँचाई, मलखाद्य, उन्नत विउविजनसहित बजारिकरणको आधारभूत संरचना तयारीमा लागेको बताए ।

लहानमा शनिबार पत्रकार भेटघाट गर्दै मन्त्री साहले सिँचाईको लागि कोशी कमला डाईभर्सन गर्दै अरु नदीनाला पहिचान गर्दै सिँचाईको व्यवस्थापन गर्ने भन्दै साना किसानको लागि पाँच हजार ट्वेल वितरण गर्ने बताए ।

मुख्यमन्त्री कृषि उत्थान कार्यक्रमले प्रदेश २ को कृषि क्षेत्रको आधुनिकिकरण र अधिकतम उत्पादन गर्न १० कठ्ठासम्म भएका किसानलाई वार्षिक १० हजार रकम उपलब्ध गराउने  मन्त्री साहले बताए ।

किसानले कम लागतमा बढी मुनाफा हासिल गर्न कृषि उपकरण खरिदमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान छुटको समेत व्यवस्था गरेको छ । कृषिक्षेत्रको समस्या समाधानको लागि दीर्घकालीन, मध्यकालिन र अल्पकालिन योजना बनाएर अगाडि बढिरहेको मन्त्री साहले बताए ।

अर्गानिक स्टेटको रुपमा प्रदेश २ लाई अगाडि बढाउने भन्दै मन्त्री साहले खेतीको समयमा हुने मलको अभावलाई कम गर्न प्रदेशमा ३ वटा अर्गानिक मलको उद्योग स्थापनाको तयारीमा रहेको बताए ।

देशभर वार्षिक ६ देखि ७ लाख मेट्रीक टन रासायनिक मलको माग रहेपनि ४ लाख मेट्रीक टन मात्रै आपूर्ति हुने गरेको बताउँदै मन्त्री साहले माग अनुसार आपूर्ति नहुँदा प्रदेश २ मा कृषि उत्पादनमा कमि हुँदै गएको बताए ।

कृषि उत्पादनमा जोड दिँदै स्थानीय तहको समन्वयमा कृषकले कस्टम ह्यारिङ सेन्टर मार्फत न्युनतम शूल्कमा कृषि औजार तथा उपकरण प्रयोग गर्ने सुविधा प्रत्येक पालिकामा व्यवस्था गरिने मन्त्री साहले बताए ।

जल, जमिन र जनशक्तिको अधिकतम प्रयोग गर्दै प्रदेशका युवालाई प्रदेशमै राख्नको लागि पनि कृषि क्षेत्रलाई व्यवस्थित र सामूहिक खेतिको लागि समेत ऋण उपलब्ध गराउने मन्त्री साहले बताए ।

योसँगै आठ वटै जिल्लामा कोल्ड स्टोर, प्रदेशको प्रत्येक पालिकामा दुधमा आत्म निर्भर बनाउन चिस्याँग केन्द्र र धानचामल ब्रान्डिगको लागि प्रत्येक जिल्लामा सेलर प्लान्टको व्यवस्था गर्दै ‘हर खेतमै पाइन, हर हातमे रोजगार’ नारालाई सार्थक बनाउने मन्त्री साहले बताए ।

 

प्रतिक्रिया दिनुहोस्