लोसपालाई गठबन्धनमा ल्याउन निधिको दौडधुप



  • जयन्त ठाकुर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सत्तारूढ गठबन्धनमा आउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपाका नेताहरूलाई आग्रह गर्दै आइरहेका छन्।

लोसपाका नेताहरू स्वयं गठबन्धनमा आउनका लागि साकारात्मक देखिएका छन्। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि पनि लोसपालाई जसरी पनि गठबन्धनमा ल्याउनुपर्ने बताउँदै आइरहेका छन्।

गत प्रतिनिधिसभाको निर्वाचनमा लोसपाकै वरिष्ठ नेता एवं तत्कालीन राजपाका नेता राजेन्द्र महतोसँग धनुषा निर्वाचन क्षेत्र नम्बर– ३ बाट पराजित भएका निधि लोसपालाई गठबन्धनमा ल्याएर आफ्नो क्षेत्र सुरक्षित पार्ने रणनीतिमा छन् । सोही पहल स्वरूप केही दिन अगाडि निधि लोसपाका नेता राजेन्द्र महतोसँग भेटघाट गरेका थिए ।

निधि आफ्नो क्षेत्रमा बलिया देखिए पनि विगतमा उनले सबै दल मिल्दा पनि चुनाव लोसपा नेता राजेन्द्र महतोसँग हारेका थिए। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा लोसपासँगै गठबन्धनको तयारीमा छन्।

त्यसो भयो भने निधिलाई टिकटमै समस्या हुन सक्ने देखिन्छ किनभने महतो यसै क्षेत्रबाट लड्ने सम्भावना प्रबल रहेको लोसपाकै नेताहरू बताउँछन्। यसले लोसपा गठबन्धनमा सहभागी भए पनि यी २ नेताबीच टिकटका लागि नै झमेला हुने निश्चित देखिन्छ।

नेपाली कांग्रेसका उपसभापति निधिका लागि सो क्षेत्र जन्मभूमि मात्र नभई कर्मक्षेत्र पनि हो। त्यसैले यस क्षेत्रबाट उनले नै गठबन्धनबाट टिकट पाउने सम्भावनालाई नकार्न सकिँदैन। यता, एमालेलाई एक्ल्याउने प्रयासमा गठबन्धन रहे पनि एमालेले पनि ‘हेभी वेट’कै उम्मेदवार खडा गर्ने तयारी गरेको छ।

धनुषा– ३ बाट नेकपा एमालेकी नेत्री एवं पूर्वमन्त्री जुलीकुमारी महतोले निर्वाचन लड्ने सम्भावना छ। जुलीलाई २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका पूर्वउपसभापति निधिले १ हजार ४०० मतको अन्तरले पराजित गरेका थिए।

जुली पछिल्लो निर्वाचनमा भने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएकी थिइनन् । यस पटक जुली पनि निर्वाचन लडे धनुषा ३ मा यी हेभी वेट नेताहरूबीचको त्रिपक्षीय भिडन्त रोचक हुने निश्चित छ ।

त्रिपक्षीय भिडन्तमा निधि मजबुत

नेपाली कांग्रेसका निवर्तमान उपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर– ३ बाट प्रतिनिधित्व गर्छन्। २०७४ सालमा भएको निर्वाचनमा उनी यहाँबाट पराजित भएका थिए । निधि तत्कालीन राजपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए।

महतो अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा छन्। २०७४ सालको चुनावमा निधिले २७ हजार ८७४ मत ल्याएका थिए। तत्कालीन राजपा नेता महतोले ३० हजार ७५० मत ल्याएका थिए। तर, अहिले अवस्था बदलिएको छ। राजपा एक मोर्चा छैन बरु कांग्रेसलाई गठबन्धनको साथ मिल्ने देखिन्छ।

धनुषा क्षेत्र नम्बर– ३ मा विदेह नगरपालिकाको १ नम्बर वडा पर्छ। गएको स्थानीय तह निर्वाचनअन्तर्गत वडा तहको मत हेर्ने हो भने कांग्रेससँग यहाँ १५४, एमालेसँग ३७२, नेकपा एस ३६५ मत छ। यता, निर्वाचन क्षेत्रमा पर्ने धनौजी गाउँपालिकामा वडाध्यक्षको मत जोड्दा कांग्रेस पहिलो शक्ति हो । कांग्रेससँग यहाँ २ हजार ८१६ मत छ।

यस्तै, एमालेसँग १ हजार ५७९, नेकपा एस १ हजार २७ तथा लोसपासँग १ हजार ५९० मत छ। यस्तै, नागराइन नगरपालिकमा कांग्रेससँग ५ हजार ९७५ मत छ भने एमालेसँग ६ हजार ७० मत छ।

लोसपासँग १ हजार ५४३ मत छ । मुखियापट्टी मुसहरमिया गाउँपालिकामा कांग्रेससँग २ हजार ८९० मत, एमालेसँग २ हजार २१८ मत रहेको वडाध्यक्षले ल्याएको मत छ । यहाँ सर्वाधिक मत जसपासँग छ।

जसपाले गएको स्थानीय तह निर्वाचनमा ४ हजार १७२ मत ल्याएको थियो। निधिको निर्वाचन क्षेत्रमा जनकपुरधाम उपमहानगरपालिकाको पनि धेरै वडाहरू पर्छन्।

यहाँबाट निधिको पार्टी कांग्रेसका वडाध्यक्षहरूले कुल मत १० हजार ४६६ मत ल्याएको छ । यस्तै, एमालेले ६ हजार ५३८, लोसपाले ५ हजार ४५७, जसपाले २ हजार ६३२ मत ल्याएको छ । कुल मतमा हेर्ने हो भने गएको स्थानीय तह निर्वाचनबाट धनुषा क्षेत्र नम्बर– ३ बाट कांग्रेसलाई २३ हजार ३०१ मत प्राप्त भएको छ ।

यस्तै, नेकपा एमालेले १६ हजार ७७७ मत ल्याएको । जनता समाजवादी पार्टीले ८ हजार ३१८ मत, लोसपाले ८ हजार ७६७ मत ल्याएको थियो।

निधिलाई गठबन्धनमा रहेका दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा एस, जसपाले साथ दिने हो भने ३५ हजार ७ मत आउन सक्ने देखिन्छ । एमालेले पनि लोसपालाई साथ दिए ३५ हजार २६३ मत आउने देखिन्छ ।

धनुषा– ३ बाट चुनाव लड्छु : जुली

नेकपा एमालेकी नेत्री जुलीकुमारी महतोले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर– ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेकी छन्।

पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेकी पूर्वमन्त्री महतोले निर्वाचनको मिति घोषणा भएसँगै धनुषा क्षेत्र नम्बर– ३ बाट उम्मेदवारी घोषणा गरेकी हुन्। बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा बडो महत्वका साथ हेरिएको यस क्षेत्रको अवस्था विगतभन्दा निकै सहज हुने भएपछि आफूले उम्मेदवारी घोषणा गरेको उनले बताइन् ।

उनले आफूलाई चुनाव लड्न व्यापक दबाब आइरहेको पनि बताइन्। उनले भनिन्, ‘मैले उम्मेदवारी घोषणा गरेकी हुँ। गठबन्धनलाई पछार्दै एमालेले एक्लै निर्वाचन जित्छ।’

उनले प्रतिनिधि तथा प्रदेशसभामा प्रत्यक्ष तर्फबाट ५० प्रतिशत महिलालाई निर्वाचनमा उम्मेदवार बनाउन एमालेलगायत विभिन्न दलसँग आग्रहसमेत गरिन्।

प्रतिक्रिया दिनुहोस्