प्रहरीद्वारा व्यापारीक प्रतिष्ठानमा छापा, १२ लाखभन्दा बढीको मरिच नियन्त्रणमा 



वीरगञ्ज : पर्सा प्रहरीले शनिबार वीरगञ्जको विभिन्न व्यापारीक प्रतिष्ठानमा छापामारी ठूलो परिणामा मरिच बरामद गरेको छ । भारततर्फ अवैध रुपमा निकासी गर्न व्यवसायीहरुले आआफ्नो गोदाममा स्टोर गरेर राखेको मरिच प्रहरीले नियन्त्रणमा लिएको थियो । 

छापा मार्ने क्रममा प्रहरीलाई देख्नासाथ व्यापारीहरु फरार भएको प्रहरीको दाबी छ । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने, ‘यदि व्यापारीको नियत ठिक थियो भने प्रहरीलाई देख्नासाथ किन भाग्नु पर्थ्यो । हामीले भनेका थियो तपाईहरुको नियत ठिक छ भने बिल विजक देखाउँनुस् हामी केही गर्दैनौ तर उहाँहरु आउँनु भएन ।’

प्रहरीले शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको रहेको संदीप कुमार पटेलले सञ्चालन गरेको प्रिन्स किराना एण्ड जेनरल स्टोर्समा छापामारी गरी करिब १२ लाख ५० हजार ९ सय ९४ रुपैयाँको ९० वटा बोरामा राखिएको २२५० किलो मरिच नियन्त्रणमा लिएको थियो । 

जय श्री श्याम ईन्टरप्राईजेजबाट ५४ बोरामा राखिएको करिब ६ लाख मूल्य बरामदको मरिच र नेपाल किराना स्टोर्समा छापामारी गरी प्रहरीले २ लाख १० हजार मूल्य बराबरको मरिच १३ बोरा, इलाईची ४० किलो र सुपारी २ बोरा नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिएको मरिच, इलाईची र सुपारी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रहरी उपरीक्षक राठौरले बताए । यता व्यापारीहरु सोमबार पत्रकार सम्मेलन गरेर प्रहरीले गैर कानुनी रुपमा गोदाममा आंतकी शैलीमा छापामारी गरी मरिच आफ्नो नियन्त्रणमा लिएको बताए ।  

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा प्रिन्स किराना एण्ड जेनरल स्टोर्सका संचालक रवीन्द्र महतोले प्रहरीले पसलमा आंतकी शैलीमा प्रवेश गरी गोदामको ताल्चा फुटाई खरीद गरी ल्याएको मरिच आफनो नियन्त्रणमा लिएको आरोप लगाए । 

उनले भने, ‘हामी खरिद गरिएको बिल भरपाई देखाई रहेको थियो, तर प्रहरी मध्ये एकजनाले हामीलाई बिलको मतलब छैन माथिबाट आदेश आएको छ हामी मरिच लिएर नै जान्छौ । 

रोक्न खोज्दा प्रहरीले उल्टै बलजस्ती गरेको उनको आरोप व्यपारीहरुको छ । 

कुनैपनि ठाउँमा छापामारी गर्न जाँदा मापदण्ड अपनाउनु पर्ने बताउँदै सञ्चालक महतोले भने, ‘उद्योग वाणिज्य संघ, स्थानिय जनप्रतिनिधि, कर कार्यालय लगायतको प्रतिनिधिहरुको रोहबरमा छापामारी गर्नुपर्ने थियो । तर, प्रहरीले एकलौटी रुपमा धाँधली देखाउँदै गोदाममा लगाइएको ताल्चा फुटाएर सम्पूर्ण सम्मान आफनो नियन्त्रणमा लिएर गए ।’

हामी नेपाल सरकारको नियम कानुनको परिधिमा रहेका काम गरीरहेको छौं । तेश्रो मुलुकबाट एलसी खोलेर मरिच मगाएका इम्पोर्टर आफ्नो विल विजकमा खरिद गरेर विक्री वितरण गर्ने गरेको छौ । तर, प्रहरीले कानुनी प्रकृया पूरा नगरी अराजक वातावरण बनाई कानुनी राज्यको उलंघन गरी ऐन कानुन अनुसार गर्दै आएको कारोबारमा दखल गरी आफूहरुमाथि ठूलो अन्याय गरेको दुखेसो समेत उनले पोखे । 

उनले भने, ‘मरिच खरिद विक्रीको विल विजक लिएर आइतबार एसपी साहेब कहाँ जाँदा एसपी साहेबले भने, जे भयो भयो हामी तुरुन्त छोड्न मिल्दैन बरु मुचुल्कामा हस्ताक्षर गरिदिनुस् समान छुट्ने गरी सहज वातावरण बनाई वीरगञ्ज भंसार कार्यालयमा बुझाई दिन्छौ त्यहाँ गएर जिम्मा लिनुस् भनि फर्काएका थिए ।’

‘हामी सानो व्यापारी हौं, ठूलो व्यापारीहरुले तेश्रो मुलुकबाट कन्टेनरमा मरिच मगाउने गरेका छन् । उनीहरुले मगाएको मरिचबाट खरिद गरेर खुद्रा तथा होलसेल हामी बेच्ने गरेको छौं त्यही प्रकृतीको खरिद विक्री ठूलादेखि साना व्यापारी गर्छन । पत्रकार सम्मेलनमा सुमित किराना स्टोरका सञ्चालक सत्रुधन प्रसाद कुशवाहाले भने, ‘तर दुःख भने सानो व्यापारीले नै भोग्नु पर्ने भन्दै प्रश्न  गरे  ।’ 

उनले थप्दै भने, ‘हामी गोदाममा ५० बोरा वा १ सय बोरा मरिच हुन्छ तर त्यही मरिच तेश्रो मुलुकबाट मगाउनेको गोदाममा १ हजार बोराभन्दा कम हुँदैन तर प्रहरी ठूलो कहाँ जादैन । प्रहरीले सानोलाई मात्र अनावश्यक दुःख दिँदै आएको छ ।’ 

‘यदी हामी तस्करी गराई रहेको छौ भने, प्रहरीले प्रमाण पेश गरोस् तर अनावश्यक दुःख दिने काम नगरोस । तस्करी हुने समानलाई बोर्डममा समात्ने काम हुन्छ त्यहा प्रहरी परिचालन गरिएको छ बजारबाट होइन बजारमा हामी खरिद विक्रीको लागि समान मगाउँछौ तस्करीको लागि होईन ।’ उनले भने । 

उनले वीरगन्जका आर्दश ट्रेडिङ्गका विजय सिंह सेठिया, गोपालराय पुरुषोत्तमका रामऔतार खण्डेवाल, रवि ओभरसिजका श्रवण पटवारी, न्यू जय लक्ष्मी ट्रेडर्सका विक्की पटेल, आर्दश किरानाका राहुल अग्रवाल, सत्यम् एग्रोका धिरज गुप्ता, रिजवी टे«डिङ्गका मनिष अग्रवाल र ब्राईट फरच्यूनका पशुपती खण्डेवालले एलसी नै खोलेर तेश्रो मुलुकबाट करोडौंको मरिच वीरगन्ज भित्र्याउने गरेको खुलासा समेत गरे । 

वीरगन्जमा मरिचको खुद्रा मूल्य प्रतिकिलो ४५० देखि ५१० रुपैया सम्म छ । यही मरिच सिमा पारी भारतमा गएपछि यसको मूल्य दोब्बर हुन्छ । व्यापारीहरुले तेश्रो मुलुकबाट मरिच मगाएर नेपालको विभिन्न नाकाबाट भारततर्फ अवैध रुपमा मरिच निकासी गर्ने गरेको प्रहरीको आरोप छ । पर्सा जिल्लामा खपतभन्दा कयौ गुना बढी मरिच भित्र्याउने गरेका छन । 

पर्सा प्रहरीले ५ किलो चिनि पक्राउ गर्दा तेश्रो भोली पल्ट प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्ने गरेको भएतापनि भारी मात्रामा पक्राउ गरेको मरिच तीन दिन वित्ति सक्दा समेत सार्वजनिक गरेनन् । प्रहरीले मरिच सार्वजनिक नै नगरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएपछि प्रहरीको काम कारवाही प्रति सर्वसाधारणमा आशंका उब्जेको छ । 

प्रतिक्रिया दिनुहोस्