कर्मचारीका कारण बदनाम बन्दै गोलबजार नगरपालिका



अमरेश कुमार मिश्र 

जनकपुर : गोलबजार नगरपालिकाको लेखा शाखाको ढोकामा भेटिए सेवाग्राहीहरुको एक समूह । उनिहरु कोही उपभोक्ता समितिका अध्यक्ष थिए भने कोही जनप्रतिनिधि र ठेकेदारहरु थिए । लेखा शाखाबाट बोलावट भएपछि उनिहरु भित्र पस्थे र केही समयमा असिनपसिन भएर निस्कन्थे । 

निस्किएका धेरै जसोलाई द नेपालटपले पछ्यायो र लेखा शाखाका कर्मचारीको काम कारवाहीको शैलीबारे जानकारी लिन खोज्यौँ । धेरैजसोले बोल्न चाहेनन्, केहीले भने नाम उल्लेख नगर्ने शर्तमा द नेपालटपसँग गोलबजार नगरपालिकामा मौलाउँदै गएको बेथितीबारे बोले । 

गोलबजार नगरपालिकाका सानादेखी ठूला तहका सबै कर्मचारी ठाडै कमिशन माग्ने गरेको एक सेवाग्राहीले भने, ‘यहाँका इञ्जिनियरिङहरुले मोटै रकम कमिशन माग्छन् ।’ सिरहा जिल्लामा सबैभन्दा बढि यहाँका कर्मचारी घुसखोर छन् भन्दै जंगिए पनि उनि । 

अर्का सेवाग्राहीले भने, प्रमुख प्रशासकिय अधिकृतको १० प्रतिशत, इञ्जिनियरले १० प्रतिशत र लेखाले कम्तिमा ५ प्रतिशत कमिशन लिएर मात्र चेक दिने गरेका छन् ।

प्राप्त जारिका अनुसार खुल्लमखुल्ला कमिशन र घुस माग्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिकाको कर्मचारीमाथि उच्च निगरानी गरिरहेको छ । मालपोत र नापी कार्यालयमा झैँ गोलबजार नगरपालिकामा पनि कर्मचारीले घुस बार्गेनिङ्ग गरेर सेवाग्राहीलाई हैरान बनाउने गरेका छन् । उसै पनि सिरहा घुसको मामलामा बद्नाम छ ।

तर, गोलबजार नगरपालिका मेयरले कर्मचारीले कमिशन मागेको विषयमा उजुरी कसैले पनि नगरेको र कर्मचारीले कमिशन लिएको उजुरी परे तत्काल कारवाही प्रकृया अगाडि बढाउने बताए । नगरपालिकाको केन्द्र र भित्रि गाउँहरु जोडिने सडकहरु प्रशस्त बनेको बताउँदै मेयर साहले राजमार्ग र भित्रि गाउँहरु जोड्ने सडकहरु पनि प्रशस्त बनेको बताए । गोलबजार नगरपालिकामा ११ वटा वडा छन् ।

मेयर साहका अनुसार गोलबजार नगरपालिकाले कृषी,  शिक्षा, बाटोघाटो, स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ । उनले भने, ‘शिक्षा क्षेत्रमा नयाँपन ल्याउन प्रयासरत छौँ ।’

केही पत्रिकाले आधार बिनै गोलबजार नगरपालिकामा भ्रष्टचार बढ्यो भनेर लेखेको बताए गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले ।

र्मचारीले कमिशन मागेको कुरा आफूलाई जानकारी नभएको दाबी पनि गरे उनले । तर केसीलाई बिचौलिया मार्फत विकास निर्माणको कामको कमिशन लिने गरेको आरोप सेवाग्राहीहरुको छ ।

केसीले कर्मचारीले कमिशन लिने कुरा नस्विकारे पनि गोलबजार नगरपालिकको एक कर्मचारीलाई अख्तियारले घुस रकमसहित पक्राउ गरिसकेको छ । अख्तियारका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार गोलबजार नगरपालिकाका कर्मचारीमाथि अहिले पनि अख्तियारले निगरानी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्