शीशाको पिँजडालाई ढुंगा हानेर फुटाउन खोज्यो बाँदरले (भिडियो सहित)



एजेन्सी : चीनमा शीशाको पिँजडामा राखिएको एक बाँदरले चुच्चो ढुंगोले हिर्काएर भाग्न खोजेको भिडियो सार्वजनिक भएको छ। बाँदरहरू निकै बुद्धिमान् हुन्छन् र शीशा फुटाउनका लागि उसलाई के चिन्ता आइलागेको थियो भन्ने थाहा हुन सकेको छैन।

हेनान प्रान्तको झेङझु चिडियाखानामा एक हप्ताअघि यो भिडियो खिचिएको हो। कोलम्बियाली सेतोमुखे कापुचिन बाँदरले ठूलो चट्टान बोकेर शीशाका भित्तोमा ठोकेको देखिन्छ। बाँदरले शीशामा हिर्काएपछि मानिसहरू स्तब्ध भएका थिए। 

शीशा चर्किएपछि भने बाँदर तर्सिएको थियो। चिडियाखाना घुम्न आएका वाङले भने, ‘बाँदरले पहिला चट्टान चुच्यायो अनि शीशामा हिर्कायो। शीशा चर्केपछि ऊ आत्तियो तर पछि फेरि फर्केर आयो र शीशालाई छोयो।’

झेङझु चिडियाखानाका कर्मचारी टियान शुलिआयोले स्थानीय सञ्चारमाध्यमलाई बताए, ‘यो अरू बाँदर जस्तो हैन। उसलाई ओखर फुटाउने औजार चलाउन आउँछ। हामीहरूले अरू बाँदरलाई ओखर खुवाउँदा उनीहरू टोक्न मात्र जान्दछन्। तर यो बाँदरले पहिला कहिले पनि शीशामा हिर्काएको थिएन।

यो पहिलोपटक भएको हो। शीशा दह्रो भएकाले बाँदर बाहिर निस्कन सक्ने चाहिँ थिएन। घटनापछि हामीले सबै चट्टान फ्याँक्यौं।’ शीशा परिवर्तन गरिने र जनावरलाई भाग्न नदिनका लागि गश्ती बढाइने टियानले बताए।

प्रतिक्रिया दिनुहोस्