पूर्वराजाको थाईल्याण्ड भ्रमणले ल्याएको तरंग



काठमाडौं : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हिजो (मंगलबार) विरगञ्जमा पुगेर संघीयता र गणतन्त्रमाथि ग्रहण लागको बताइरहदा पूर्व राजा ज्ञानेन्द्र शाह भने थाईल्याण्डको बैंककमा भारतीय जनता पार्टी निकट रहेको हिन्दूवादी संगठनका नेताहरुसँग भेटघाटमा व्यस्त थिए । त्यसो त नेपथ्यमा राजावादीहरुको गतिविधि शून्यप्रायः रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा गणतन्त्रमाथि चौतर्फी आक्रमण भएकोले संकटमा पर्न थालेको भन्दै सबै दलहरुलाई एकजुट हुन आग्रह गरेका थिए । 

प्रधानमन्त्री ओलीले गणतन्त्रको संरक्षण र संस्थागत विकासका लागि सबै दल एकजुट हुन आग्रह गरिरहँदा पूर्वराजा शाह हिन्दूवादी संगठनका नेताहरुका सँगसँगै पश्चिमा देशका कुतनीतिज्ञसँग भेटघाट गरिरहेको निर्मल निवास स्रोतले बताएको छ । कतिपयहरुको भनाइमा पूर्वराजा शाहले भारतीय जनता पार्टीका केही प्रभावशाली नेताका साथै आरएसएसका पदाधिकारीहरुसँग बाक्लो भेटघाट गरिरहेका छन् । 

पारिवारिक घुमघामका लागि भन्दै पूर्वराजा शाह गत साउन २४ गते थाईल्याण्ड प्रस्थान गरेका थिए । पूर्वराजा शाह, पूर्वरानी कोमल शाह र पूर्व युवराज्ञी हिमानी शाहसँगै नातिनातिनासहित थाईल्याण्डमा रहेका छन् । पारिवारिक भ्रमणका लागि भनेर गएका उनी विभिन्न राजनीतिक भेटघाटमा व्यस्त रहेपछि नेपाल फर्कने अवधि पनि लम्बाएका हुन् । तीन साता लामो बसाईका क्रममा पारिवारिक घुमघाम र भ्रमण मात्र नभएर राजनीतिक उद्देश्यसहितको भेटघाट पनि गरिरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार थाईल्याण्डको बैंकक भ्रमणपछि भारतको भ्रमण गर्न सक्ने अडकलबाजी गरिएको छ । पूर्व राजा कहिले फर्कने भन्ने तिथि यकिन नभएपनि छिट्टै फर्कने निर्मलनिवास स्रोतले बताएको छ । 

पारिवारिक भ्रमण र घुमघामका लागि भन्दै थाईल्याण्डको बैंकक पुगेर पूर्वराजाले राजनीतिक भेटघाटलाई तिव्रता दिएपछि नेपाली राजनीतिमा हलचल पैदा भएको छ । प्रधानमन्त्री ओलीले आफूलाई विभिन्न स्रोतबाट प्राप्त सूचनाका आधारमा गणतन्त्रमाथि संकट पैदा गर्ने चलखेल भएको बताउनु पनि यसैप्रति लक्षित रहेको देखिन्छ । जनस्तरमा चलखेल नदेखिएपनि भित्रभित्रै यस्तो चलखेल भइरहेको  विश्लेषण कतिपयले गरेका छन् । बेबी किङ्ग र हिन्दूराज्य घोषणा जर्ने विषयमा भारतको संस्थापन पक्ष लागिरहेको पनि चर्चा चल्दै आएको छ । तर कतिपयको बुझाइमा  अहिले यस्तो अवस्था आउने सक्ने संभावना देखिदैन । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजसंस्था फेरि स्थापित हुने कुरा अंसंभव प्रायः भएको बताउछन् । उनी भन्छन्, ‘जनताले फ्यालेको राजसंस्था आउन सक्ने कुनै संभावना छैन । यस्तो सपना देख्नु भनेको मसानघाटबाट मान्छे ब्युँतिनु जस्तै हो ।’

प्रतिक्रिया दिनुहोस्