उपत्यका भित्रिने नाकामा ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन हुने



काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका भित्रिने नाकाहरुमा ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्ने भएको  छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्रिने तथा उपत्यकाबाट बाहिरिने चालक, सहचालक र यात्रुलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको हो। 

सडक सभ्यता अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए। “उपत्यका भित्रिने प्रत्येक नाकामा कक्षा सञ्चालन गर्दा धेरै यात्रु तथा चालकलाई ट्राफिक जनचेतना हुने भएकाले उक्त अभियान सञ्चालन गर्न लागेका हौँ”, उनले भने। 

महाशाखाले थानकोट, जगाती, दक्षिणकाली र नागार्जुन नाकामा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक अडियो (जिङ्गल) बजाउने, यात्रुलाई पर्चा पम्प्लेट बाँड्ने तथा बसमा हर्न निषेधसम्बन्धी स्टिकर टाँस्नेछ। महाशाखाले यसअघि काठमाडौँ उपत्यकाभित्र चल्ने सवारी साधनलाई ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको थियो। 

यस्तै, मादकपदार्थ सेवन र लेन अनुशासन नमान्ने सवारी साधनलाई कारवाही र ट्राफिक जनचेतनामूलक कक्षासमेत सञ्चालन गर्दै आएको छ। 

 

प्रतिक्रिया दिनुहोस्