प्रदेश २ मा सार्वजानिक कार्यक्रममै यौनबारे बहस



दिनेश्वर गुप्ता

जनकपुरधाम : यौन सम्बन्धी विषयमा प्रदेश २ अझै अनुदार मानिन्छ । अहिले पनि यहाँको समाजमा महिलाप्रतिको दृष्टिकोणमा खासै परिवर्तन आएको पाइँदैन । अझैपनि बुहारीहरुलाई घरबाट एक्लै निस्कन छुट छैन भने घुम्टो भित्रै बस्नुपर्ने बाध्यता छ । पूर्ण स्वतन्त्रता उनिहरुका लागि एकादेशको कथा जस्तै भएको छ । 

तर, प्रदेश दुईकै एक प्रमुख शहरमा भने एक अनौठो कार्यक्रमको आयोजना भयो जहाँ यौनका विषयमा खुलेरै बहस भयो । 

हिजो (बुधबार) लहान नगरपालिकाले आयोजना गरेको कार्यक्रममा धेरै वक्ताहरुले यौनबारे खुलेरै आफ्नो धारणा राखे ।

‘महिलाहरुले यौन व्यावसायमा लागेनन् भने पुरुषहरुले समाजमा महिला हिंसाको घट्ना घटाउछन्’ मुक्ति नेपालकी संगम विकले कार्यक्रममा भनिन्, ‘तर महिलाहरु नै यसको विरुद्धमा छन् । केही महिलाहरुकै कारण यौन व्यवसायमा लागेका महिला पीडित बनेका छन् ।’

दलित सिमान्तकृत तथा महिलाहरुमा मानव बेचबिखन र ठगीका सवाल विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक अमात्यले विवाह गरेको १५—२० दिनमै श्रीमान् विदेश जाँदा श्रीमतीमाथी विभिन्न आरोप लाग्ने र शंकाको दृष्टिले हेर्ने गरेको बताए । प्रत्येकमाथी शंकाको दृष्टिले हेर्नु नहुने बताउँदै उनले आपसी मिलोमतोमा हुने शारीरिक सम्बन्धलाई अन्यथा लिनु नहुने बताए ।

प्रहरीले रातविरात होटल र लजहरुमा छापा हान्नु पनि उचि नभएको धारणा उनको थियो ।

होटल व्यावसायी संघ सिरहा लहानका अध्यक्ष सञ्जय साहले ‘सेक्स’लाई मार्केटिङ्ग गर्दै  व्यवस्थित तरिकाले व्यवसायकरण गर्नुपर्ने बताए । उनले भने–यौनका लागि होटल सुरक्षित ठाउँ मानिए पनि जहिले पनि प्रहरीले होटल व्यवसायीमाथि वेश्यावृत्ती गरेको आरोप लगाउने र धरपकड गर्ने गरेको छ । यस्तै हो भने होटल व्यवसाय नै बन्द गर्नुपर्ने हुन्छ । 

कार्यक्रममा महिला अधिकारकर्मी श्मामकुमारी साहले प्रहरीले होटलमा छापा मारेर मालिक र यौनकर्मीलाई थुन्ने गरेपनि होटल मालिकलाई छाड्ने र यौनकर्मी महिलालाई  मात्रै सार्वजनिक मुद्दा चलाउने गरेको बताइन । उनले भनिन्–होटल व्यवसायले यौनकर्मीलाई उचित पारिश्रमिक दिँदैन । त्यसमाथी प्रहरीले पनि महिलाहरुलाई मात्र मुद्दा चलाएर पीडित बनाउने गरेका छन्  । 

अधिकारकर्मी साहले सिरहामा डिभोर्सको मुद्दा बढेको पनि बताइन् । वैदेशिक रोजगारमा गएको श्रीमानले श्रीमतीमाथी यौनका मामिलामा विभिन्न प्रश्न उठाउने गरेकोले डिभोर्सका घटनाले परिवारमा विखण्डनको खतरा बढेर गएको उनको भनाइ थियो ।

ब्लु डाइमन्ड प्रतिनिधि शिवानीले तेस्रो लिङ्गीलाई समस्यामा रहेको बताइन् । पशुपंक्षीलाई जसरी सहवासको आवश्यकता हुन्छ त्यसैगरी मानवरुपी तेस्रो लिङ्गीको लागि पनि उतिकै जरुरी छ उनले बताइन् । तर, समाजमा तेस्रो लिङ्गीलाई विभेद हुँदै आएकोले प्राकृतिक अधिकारबाट समेत बञ्चित बनाइने गरिएको आरोप उनले लगाइन् ।

सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले चेलीबेटी बेचबिखनको केन्द्र होटल भएको भन्दै विभिन्न किसिमको प्रलोभन दिएर यौनिक क्रियाकलाप हुने गरेको बताउँदै यौन पेशालाई न्यूनिकरण गर्नको लागि चेतनामुलक कार्यक्रममा जोड दिँदै आएको बताए । 

लहान नगरपालिकाका प्रमुख मुनी साहको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी थिए ।

 

प्रतिक्रिया दिनुहोस्