टीभी सारेको भन्दै पत्नीलाई पिटे यी व्यक्तिले (भिडियो सहित)



एजेन्सी : भियतनाममा एक मार्सल आर्ट्स एक्सपर्टले आफ्नी पत्नीलाई पिटेको भिडियो सार्वजनिक भएको छ। टीभी एउटा कोठाबाट अर्को कोठामा सारिएकाले न्गुयेन शुआन भिन्ह नामक ती व्यक्ति आफ्नी पत्नीसँग रिसाएका थिए। घटना सोमवार साँझ राजधानी हनोइमा भएको हो।

पत्नी भु थी थु ली रेडियो प्रस्तोता हुन्। उनले आफूमाथि गरिएको आक्रमणको भिडियो अप्लोड गरेकी थिइन्। भिडियोमा लीले आफ्नो दुईमहिने छोरो च्यापिरहेको अनि पतिले उनलाई वुशु अपनाएर कुटपिट गरेको देखिन्छ। 

भिडियोमा अर्को बच्चा पनि देखिन्छ र ऊ तिनीहरूको अर्को छोरा भएको विश्वास गरिएको छ। बाउले उसलाई अर्को कोठामा जान आग्रह गर्छ। पतिले पिटेको पिट्यै गरेपछि पत्नी भागेको देखिन्छ। 

घरमा भएको सीसीटीभीमा घटनाको भिडियो रेकर्ड भएको हो। पापी पतिले फनक्क घुमेर पत्नीको अनुहारमा लात हानेको समेत देखिन्छ। उसले बेस्सरी हिर्काउँदा पत्नी भुइँमा लडेको देखिन्छ।  उक्त कुटपिटपछि पत्नीलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो।

भिडियो भियतनाममा व्यापक मात्रामा शेयर गरिएको भए पनि पतिलाई अहिलेसम्म पक्राउ गरिएको छैन। घरेलु हिंसाका कारण पतिपत्नीबीच पहिले नै डिभोर्स भइसकेको भए पनि दोस्रो सन्तान जन्मेपछि उनीहरूको पुनर्मिलन भएको थियो।

प्रतिक्रिया दिनुहोस्