कांग्रेसले अन्तरिम संरचना गठनका लागि ७४ जिल्लामा प्रतिनिधि तोक्यो 



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठनका लागि ७४ जिल्लामा प्रतिनिधि तोकेको छ ।  कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रजातान्त्रिक लयर्स एसोसियसन (डीएलए) का जिल्लास्थित प्रतिनिधिलाई संरचना गठनका लागि खटाएको हो । कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत संरचना गठनका लागि निर्वाचन समितिलाई जिम्मेवारी दिएको थियो ।

निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अन्तरिम संरचना गठनका लागि जिल्ला पठाउन प्रतिनिधिको नाम टुंगो लगाएको र १५ भदौबाट सबै जिल्लामा काम सुरु हुने जनाए । ‘अन्तरिम संरचना गठनका लागि ७४ जिल्लाका प्रतिनिधिको टुंगो लागिसक्यो, बाँकीमा पनि छिट्टै तोकिन्छ र १५ गतेबाट काम सुरु हुन्छ,’ समितिका संयोजकसमेत रहेका नेता अधिकारीले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

समितिका सचिव केशव रिजालले ७४ जिल्लामा डीएलएको संगठन भएको र बाँकीमा नभएका कारण शिक्षक संघ वा प्राध्यापक संघमध्येबाट जिम्मेवारी दिइने बताए । उनका अनुसार तीन जिल्ला डोल्पा, दैलेख र रुकुम पश्चिममा डीएलएको शाखा नभएका कारण शिक्षक संघ वा प्राध्यापक संघमध्येबाट जिम्मेवारी दिने तयारी भएको हो । रिजालले १५ गते सबै जिल्लामा जिल्ला कार्यसमितिको बैठक राखेर संरचना गठनको काम सुरु गर्न निर्देशन गरिएको समेत जानकारी दिए ।

जिल्लामा रहने प्रतिनिधिहरुले पार्टीको अन्तरिम संरचना गठनका लागि बनाएको निर्देशिकाअनुसार काम गर्ने र संरचना निर्माण गर्दा भएको समायोजनको विवरण प्रमाणित गरेर केन्द्रीय निर्वाचन समितिलाई पठाउने बताए ।

कांग्रेसले २० भदौभित्र १ सय ६५ प्रतिनिधिसभा तथा ३ सय ३० प्रदेशसभाको क्षेत्रीय कार्यसमिति समायोजन सक्ने र कात्र्तिकभित्र स्थानीय तहका समेत गरी सबै कार्यसमिति समायोजन गरी सक्ने तयारी गरेको छ । २६ साउनको केन्द्रीय समिति बैठकले सोही बमोजिमको निर्णय गरेको थियो ।

संरचना बनाउन डीएलएलाई जिम्मा

यसअघि जिल्ला पठाइने प्रतिनिधिको नाम टुंगो लाग्न नसक्दा संरचना गठनमा केन्द्रबाटै आलटाल भएको भन्दै पार्टी नेतृत्वको आलोचना हुँदै आएको थियो । केन्द्रीय समिति बैठकमा समेत प्रतिनिधि कसलाई पठाउने भन्नेमा विवाद उत्पन्न भएको थियो । केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यलाई नै प्रतिनिधि पठाउन संस्थापन पक्षको प्रस्ताव आएपछि इतर पक्षले असहमति जनाएको थियो भने त्यसपछि केन्द्रीय निर्वाचन समितिलाई अधिकार दिइएको थियो ।

अब प्रतिनिधिले पार्टीले बनाएको निर्देशिकाअनुसार नै प्रतिनिधिसभा क्षेत्र र प्रदेश सभा क्षेत्रमा बैठक गरी संरचना गठन प्रक्रिया थाल्नेछन् । पार्टीको रिक्त संरचना गठनको विषयलाई पार्टीभित्र विवाद बढेपछि कांग्रेसले निर्देशिका बनाएर टुंगो लगाएको थियो ।

अन्तरिम संरचना गठन सहमतिबाटै गर्ने कांग्रेस शीर्ष तहमा सहमति छ । तर, सहमति हुन नसकेको स्थानमा वा एकभन्दा बढी आकांक्षी देखिएमा भने भूभाग, प्रतिनिधि र क्रियाशील सदस्यको संख्या हेरेर नेतृत्व चयन हुने उल्लेख छ । सो प्रक्रियाबाट जाँदा समेत बराबर भएमा गोला प्रथाद्वारा नेतृत्व चयन गरिनेछ ।

प्रदेश संरचना गठनको विषयमा भने कांग्रेसभित्र अझै सहमति जुट्न सकेको छैन । कांग्रेस विधानअनुसार कांग्रेसको केन्द्रभन्दा तल्लो तहमा प्रदेश समिति रहने व्यवस्था छ ।

कांग्रेसले गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमार्फत पार्टीको विधानलाई संघीय संरचनामा रूपान्तरण गरेको थियो । विधानतः केन्द्रदेखि बुथ तहसम्म गरी कांग्रेसको आठ तहको पार्टीको संरचना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्