‘प्रचण्ड भय’ले थिचेको क्रान्तिकारी बाटो



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि भने, ‘हाम्रो पार्टी अझै क्रान्तिकारी हुने सम्भावना छ।’

‘सम्भावना’ र राजनीति पूरक हुन् । राजनीति सधैँ सम्भावनाकै खेल मानिन्छ । प्रचण्डको अभिव्यक्ति यही मान्यताबाट प्रेरित भएको बुझ्न गाह्रो छैन । हरेक चलायमान, जीवित र ऊर्जाशील व्यक्ति र संस्थाको ‘सम्भावना’ सधैँ रहन्छ। ‘यो अब सकियो’, ‘ध्वस्त भयो’, ‘बिग्रियो’ भन्नु हतारो हुन्छ । यो प्रचण्डले राम्ररी बुझेका छन् ।

राजनीतिमा तीव्र र अस्थिर रूपमा हुने आरोह–अवरोहका साक्षी र भोक्ता दुवै हुन् प्रचण्ड । यसकारण पनि उनले निर्धक्कसँग भन्न सक्छन्, ‘माओवादी केन्द्रको क्रान्तिकारी हुने सम्भावना जीवित छ ।’

अब लागौँ केही पूर्वदृश्यतर्फ। कुनै समय थियो– सशस्त्र युद्धले देशभर आतङ्क मच्चाएको थियो । देशमा सार्वजनिक भौतिक संरचना ध्वस्त भइरहेका थिए, गाउँ–शहरमा अनाहकमा सुराकी र अन्य आरोपमा निर्दोष मानिस ‘सफाया’ भइरहेका थिए, बैंकबाट करोडौँ रुपैयाँ लुटेर हातहतियार किनिँदै थियो । समग्रमा नेपाल मानव बस्ती जस्तो थिएन ।

त्यसबेला सरकारले सङ्कटकाल लगायो, झनै सकसमा परे आमजन। प्रचण्ड, बाबुरामलगायत त्यसबेलाका भूमिगत सशस्त्र ‘क्रान्तिकारी’हरू, जो माओवादीका नाममा सशस्त्र हिंसात्मक द्वन्द्वको नेतृत्व गरिरहेका थिए, उनीहरूका नाममा लाखौँ रुपैयाँ टाउकोको मोलसहित सरकारले उर्दी जारी गरेको थियो ।

हुन त त्यसबेला सरकार पनि ‘ठट्टा’ गथ्र्यो– यी नेता भारतको लोकसभा अगाडिको घरमा भारत सरकारकै सहयोग र संरक्षणमा छन्, अन्य टाउकोको मूल्य तोकिएका कतिपय नेता नेपालकै ग्रामीण भेगमा सङ्गठन विस्तारका नाममा आतङ्कका योजना बुन्दै छन् भन्ने सरकारलाई भलिभाँती जानकारी थियो। तथापि, सरकार टाउकोको मूल्य तोक्दै उनीहरूलाई खोज्न ‘नाइट भिजन’सहित जङ्गल पस्थ्यो । कसरी भेट्नु ?

यहाँ स्मरणीय के छ भने, प्रचण्ड त्यसबेला ‘रहस्यमयी’ पात्र थिए । उनका बारे अनेक अड्कलबाजी लगाइन्थ्यो। यतिसम्म कि कतिपयले गिरिजाप्रसादलाई नै प्रचण्ड भएको विश्वास गर्थे भने कतिपयले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले दाजु राजा वीरेन्द्रलाई असफल बनाउन माओवादी युद्ध सुरु गरेका र उनै प्रचण्ड रहेकामा विश्वास गर्थे।

अन्ततः प्रचण्ड दोस्रो जनआन्दोलनको सफतासँगै भौतिक रूपमा प्रकट भए– कुरुयुद्धमा अर्जुनका सामु विराट रूपमा श्रीकृष्ण प्रकट भएजस्तो । प्रचण्डको शान, प्रचण्डको जोश, प्रचण्डको ऊर्जा, प्रचण्डको वाक्कला, प्रचण्डको ‘कन्भिन्सिङ पावर’ आदि सामुन्ने देखेपछि आमजन बडो आशावादी बने ।

प्रचण्डकै नेतृत्वमा भएको १० वर्षे सशस्त्र विद्रोहलाई केहीबेर भए पनि भुले नेपालीजनले । किनभने प्रचण्डको प्रकट रूप र उनका आश्वासनले आमजन आह्लादित बन्यो एकातिर भने अर्कातिर अब अमानवीय भयकारी आतङ्कको अन्त्य हुने कुराले पनि खुसी तुल्यायो जनतालाई ।

शान्तिको बाटो खुलिसकेको थियो । माओवादी हतियार थन्क्याएर खुला संसदीय राजनीतिमा छिरिसकेको थियो । यद्यपि, उसले उसकै शब्दमा ‘जनयुद्ध’ सुरु गर्नुको लक्ष्य भने ‘बुर्जुवा संसदीय व्यवस्था’को अन्त्य थियो ।

पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दलका हैसियतमा सरकारको नेतृत्व गर्न सफल भयो माओवादी । कार्यकारी सरकार प्रमुख अर्थात् प्रधानमन्त्री बने अध्यक्ष प्रचण्ड । यहीँबाट अब प्रचण्डको ओरालो यात्रा सुरु हुन्छ ।

नेपाली राजनीतिमा हरेकजसो दलको दुर्दशा तब सुरु भएको पाइन्छ, जब त्यो दल सत्तामा पुग्छ । सत्तामा पुगेपछिको भागबन्डामा जब तलमाथि हुन्छ, त्यो दलले फुटको बाटो समाउने गरेको छ । विगतमा नेपाली कांग्रेस र एमाले अथवा राष्ट्रिय प्रजातन्त्र पार्टी वा नेपाल सद्भावना पार्टी आदि अनेक सत्तामा पुगेका दलहरूको फुट र अवसानको सुरुवात सत्तामा पुगेपछि नै भएको देखिन्छ ।

त्यही मेसोमा जोडियो अब माओवादी पनि। खुला राजनीतिमा भर्खरै छिरेको माओवादीसँग संसदीय अभ्यासको कमी, अनभिज्ञता, अपरिपक्वताको परिणाम प्रचण्ड नेतृत्वको सरकार छोटै समयमा ढल्यो। तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाल र पशुपतिनाथका मूल भट्टलाई जिस्क्याउनु प्रचण्डका लागि ‘अरिङ्गाललाई चलाउनु’ सावित भयो।

एकातिर आफ्नो नेतृत्वको सरकार असमयमै ढल्यो, अर्कातर्फ आफ्नै राजनीतिक गुरु, अभिभावक मोहन वैद्य ‘किरण’लगायत सहयोद्धाहरू रामबहादुर थापा ‘बादल’, सीपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’हरूले वर्षौंको आफ्नो साथ चटक्कै छाडेर खुला राजनीतिको केन्द्रमा जबर्जस्त हस्तक्षेप गरेको माओवादी प्वाट्टै फुटाएर हिँडे ।

क्रमशः त्योबेलाको माओवादी अनि माओवादीका त्यसबेलाका भूमिगत कमान्डर प्रचण्डको राजनीतिक यात्राले त्यसपछि आजसम्म उकालो यात्रा गर्न सकेको छैन । क्रमशः ओरालोमा हिँडेका प्रचण्ड र माओवादी हेटौँडा महाधिवेशनमा आइपुग्दा तत्कालीन एमाले महासचिव मदन भण्डारीले देखाएको कम्युनिस्टहरूको अवसानको मार्ग ‘बहुदलीय जनवाद’कै बाटोमा औपचारिक निर्णयसहित मोडिए ।

एउटा भव्य ‘क्रान्तिकारी’ आदर्श बोकेको माओवादीले पुँजीवादी मार्गमा अवतरण गर्न यसबीचमा गरेको सकस निकै अर्थपूर्ण सिकाइ बनेको छ राजनीतिशास्त्रका र इतिहासका अध्येताहरूका लागि । पछिल्लो समय प्रचण्डको अवस्था यहाँसम्म पुग्यो कि उनले नेकपा एमालेसँग पार्टी एकता गर्नुपर्ने अवस्था आयो । २०७५ जेठमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नाममा एमालेसँग एकताको प्रयास पनि भयो ।

केपी ओली र प्रचण्ड २ अध्यक्ष (उनीहरूकै शब्दमा– २ पाइलट) बोकेर उडेको नेकपाको जहाजलाई सर्वोच्च अदालतले लक्ष्य (एकता)मा नपुगी ‘फोर्सल्यान्डिङ’ गराइदियो र दुवै अध्यक्षलााई आ–आफ्नो बाटोमा हिँड्न, साथै नहिँड्न निर्देशन दियो।प्रचण्डको टाउको लुकाउने उक्त प्रयत्न पनि बिफल भयो। पार्टीभित्र अनेक किचलो र तिकडमबाट उनी ‘प्रताडित’ बन्न छाडेनन् ।

१० वर्षे सशस्त्र विद्रोहका अर्का सहयात्री डा. बाबुराम भट्टराईले पनि उनलाई यसबीचमा छाडिसकेका थिए। दाहिने हात मानिएका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौनकाण्डमा ‘फसाएर’ जेलको छिँडीतिर हालिदिएपछि प्रचण्डको राजनीतिक यात्रामा थप सकस आइपरेको देखियो ।

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको विषयलाई लिएर लागेको आरोपले पनि उनलाई समेत अप्ठ्यारो पारेको हो । तर, उक्त काण्ड छानबिन भई शर्मा निर्दोष ठहर्‍याइएर पुनः अर्थमन्त्रीमा नियुक्त भइसकेका छन् ।

आफ्ना विश्वासका र भरपर्दा नेतालाई एकपछि अर्को काण्ड आइलागेपछि उनमा निराशा बढ्नु स्वाभाविक हो । तर पनि प्रचण्डमा देखिएको उत्साह र आत्मविश्वासलाई भने मान्नैपर्ने उनीसँगै लामो समय राजनीतिक सहयात्रा गरेका १ माओवादी नेता बताउँछन् ।

भन्छन्, ‘उहाँ (प्रचण्ड) वास्तवमा यतिसम्म निरीह भइसक्नुभएको छ कि उहाँले कसरी यसरी सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्न सकिरहनुभएको छ ? म आश्चर्यमा छु ।’ १० वर्षे सशस्त्र विद्रोहका साक्षी र हिस्सासमेत रहेका नेता मणि थापाले प्रचण्डलाई नजिकबाट चिनेको दाबी गर्दै प्रचण्डको स्वभाव अस्थिर र एकलकाँटे रहेको बताएका छन् ।

एउटा अन्तर्वार्तामा थापाले भनेका छन्, ‘इतिहासमा पनि उहाँले आफ्नै पार्टी बचाउन नसकेको, आफ्नै समकालीन नेताहरू डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्दहरूलाई समेटेर लैजानेभन्दा पनि उहाँहरूको सम्हालिइसकेको ठाउँमा हस्तक्षेप गर्ने खालको अथवा कन्स्ट्रक्सनभन्दा डिस्ट्रक्सन जस्तो व्यवहार गरेको म देख्छु ।’

कोही कसैसँग मिल्न नसक्ने उहाँको स्वभाव रहेको र त्योबेलाको त्यस्तो माओवादीको योबेला यस्तो हविगत प्रचण्डकै कारण भएको अर्का १ पूर्वमाओवादी नेताको भनाइ छ । उनका अनुसार प्रचण्ड बढी आत्मकेन्द्री र स्वार्थी नेता हुन् ।

पद र शक्तिभन्दा बाहिर बस्नै नसक्ने प्रचण्डको स्वभावले माओवादी र स्वयं प्रचण्डलाई राजनीतिक अवसानको बाटोमा डोहोर्‍याएको हो । अर्का १ राजनीतिक विश्लेषक भने प्रचण्डलाई बिछट्टै ऊर्जा भएका तर केटाकेटी तालका नेता भन्छन्।

प्रचण्डबारे उनको मत छ, ‘प्रचण्डजीमा भएको ऊर्जा र उत्साहलाई उहाँ स्वयंले बुझ्नुभएन, जसका कारण माओवादी पार्टी र उहाँ स्वयंलाई अस्थिरता र टुटफुटसम्म पुर्‍याउनुभयो ।’ विश्लेषक कृष्ण पोखरेलले प्रचण्डका बारेमा केही समयअघि नै भनेका थिए– प्रचण्डका अभिव्यक्तिमा नेता, कार्यकर्ता उराल्ने नियत मात्र हुन्छ।

उनका अनुसार प्रचण्डका त्यस्ता अभिव्यक्ति कार्यकर्ताका लागि खपतका लागि मात्र हुन्छन् । प्रचण्डको पछिल्लो अभिव्यक्ति पनि कार्यकर्तालाई उचाल्ने नियतका साथ आएको बुझ्न गाह्रो छैन । नजिकिँदै गरेको सङ्घ र प्रदेश निर्वाचनमा माओवादीप्रति मत आकर्षण गर्न ‘क्रान्तिकारी’ माओवादीको तुरुप फालेको पनि राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

पछिल्लो समय कांग्रेस, जो कम्युनिस्टहरूका शब्दमा दलाल पुँजीवादी पार्टी हो, उसैसँग कुम जोडेर, आन्द्रा बाँधेर सत्ता गठबन्धन गर्ने, स्थानीय तहदेखि प्रदेश र सङ्घीय चुनावसम्म तालमेल गर्ने अवस्थामा पुगेको छ माओवादी केन्द्र । त्यसका अध्यक्ष स्वयं प्रचण्ड छन् ।

‘अस्तित्व रक्षाको गम्भीर मोडमा भड्किरहेको माओवादी केन्द्र र विरासत रक्षाको सकसपूर्ण अवस्थामा पिरोलिइरहेका प्रचण्डले माओवादीको क्रान्तिकारी बन्ने सम्भावना देख्नु प्रचण्ड भयको क्रान्तिकारी धङधङी सिवाय केही होइन’, ती विश्लेषकको मत छ ।

नजिकबाट चिनेकाहरू प्रचण्डलाई हिम्मतवालासँगै स्वार्थी, पदको लोभी, एकलकाँटे, केटाकेटी जस्ता अनेक विशेषण दिन्छन्। आफैँले उठाएका एजेन्डाको सही व्यवस्थापन गराउन नसकिरहेका प्रचण्ड पछिल्ला दिन पार्टी अझै क्रान्तिकारी बन्ने दाबी गर्न थालेका छन्।

विपरीत ध्रुवसँगको एउटा चुनावी गठजोड र अब बन्दै गरेको नयाँ गठजोडको नतिजाले मात्र उनको क्रान्तिकारी बाटो कता मोडिने हो भन्ने निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्