‘कमल थाापाले गर्दा पार्टी एकता भाँडियाे’



काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन् । 

 

अध्यक्ष राणाले पार्टी एकता प्रक्रियालाई अघि बढाउन आफ्नो पार्टी प्रतिबद्ध रहे पनि कमल थापाले गर्दा हुन नसकेकाे जिकिर गरे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जल्दै मरौं’ भन्ने खालको हतारो गरेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए । 

 

अध्यक्ष राणाले तीन पार्टीबीच एकता हुने भनेपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह एउटै पार्टीको भने हुनै नसक्ने अडानसमेत राखे । पार्टीको एकता प्रक्रिया रोकिनुमा सिद्धान्तको विषय कारक तत्वको रुपमा नरहेको अध्यक्ष राणाको भनाइ छ ।

 

अध्यक्ष राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग एक पटक गम्भीर छलफल गरेपछि पार्टी एकता गरौैं भन्ने प्रस्ताव थापाले नमानेको आरोप पनि लगाए । आफू पार्टी एकताको पक्षमा रहेको र लागिपर्ने पनि अध्यक्ष राणाको प्रतिबद्धता छ ।

 

अध्यक्ष राणाले तीन पार्टीबीच गणतन्त्र मान्ने कि नमान्ने भन्ने विषयमा फर्मूला तय भएको उल्लेख गर्दै तत्काल त्यसलाई सार्वजनिक भने नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्