बलियो पार्टी, कमजोर संगठन



काठमाडौं : पार्टी एकता भएको १५ महिनापछि एककता प्रक्रियाका कामहरु करिब करिब टुंग्याएको  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तर्गतका जनवगिय संगठन र विभागहरुले पूर्णता नपाउँदा लथालिङ अवस्थामा रहेका छन् ।

देशकै सबैभन्दा ठूलो र बलियो पार्टी भए पनि उसका भातृसंगठनहरु क्रियाशिल हुन नसक्दा यसको असर सिंगो पार्टीमा पर्ने देख्निछ ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भएको थियो । दुई ठूला कम्युनिष्ट पार्टीका बीचमा एकीकरण पश्चात बनेको नेकपा अहिले सरकारको नेतृत्व समेत गरिरहेको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले एकताको सबै काम एक हप्ता भित्रै टुंगो लाग्ने गरी अगाडि बढेको बताए । एकताको सबै काम एक हप्ता भित्रैमा टुंगो लगाउँदै देशैभरी दुई चरणको अभियान सुरु गर्ने पनि उनले द नेपालटपलाई जानकारी दिए । पहिलो चरण अन्तर्गत पार्टीका सदस्यलाई प्रशिक्षण दिने र दोस्रो चरणमा देशैभरी जागरण अभियान सञ्चालन गर्ने उनले बताए ।

‘हामी एकीकरणको महत्वपूर्ण काम सकेका छौं, केही बाँकी काम पनि यही हप्ता भित्रैमा सकिदैछौं’ श्रेष्ठले भने, ‘एकताको सबै काम टुंगो लगाउँदै देशैभरी दुई चरणको अभियान सुरु गर्नेछौं, पहिलो चरणमा आन्तरिक प्रशिक्षण र दोस्रो चरणमा जागरण अभियान सञ्चालन गर्नेछौं ।’

देशैभरी सञ्चालन हुने दुई चरणको अभियान अन्तर्गत पार्टीलाई अझै बलियो बनाउने काम हुने उनले बताए । त्यसका लागि जनसंगठनहरुलाई पूर्णता दिने र परिचालन गर्ने काममा अहिले गृहकार्य भइरहेको उनले बताए ।

पार्टी एकता यता पार्टी र जनसंगठनहरुको कार्यक्रम शून्य छ । सरकारका कतिपय राम्रा कामको जनस्तरसम्म राम्रोसँग प्रचारप्रसार समेत हुन सकेको छैन । एकताको बारेमा अझै पार्टीले जनस्तरसम्म सन्देश प्रवाह गर्न सकेको छैन ।

कम्युुनिष्ट पार्टीमा नियमित रुपमा प्रशिक्षण, भेला, बैठक, कार्यक्रम हुने गरेको छ । तर, पार्टी एकताको १५ महिना यता यि गतिविधि सुस्ताएको देखिन्छ । जनता एवं पार्टीकै स्थानीय नेता कार्यकर्ताको चाहना, समस्या बुझ्न पनि यि कार्यक्रमले सजिलो हुन्थ्यो । र समाधान गर्न नेतृत्वलाई सजिलो समेत हुन्थ्यो ।

नेकपा स्थायी कमिटीका सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश साहले पार्टी एकताको कार्य सकिनै लागेको बताए । अब पार्टीका शीर्ष नेताहरुकै सहभागितामा स्थानीय स्तरसम्म पुगेर विभिन्न कार्यक्रम, बैठक, प्रशिक्षण, भेला हुने उनले बताए ।

जनसंगठन, विभागले पूर्णता पाएनन्

नेकपामा २२ वटा जनसंगठनहरु रहेका छन् । यसैगरी ३३ वटा विभागहरु रहेका छन् । पार्टी एकताको लामो समय पश्चात पार्टीले यि संगठन र विभागहरुको नेतृत्व टुंगो लगायो । तर, यि संगठन र बिभागहरुले अझै पूर्णता पाउँन सकेका छैनन् ।

नेकपा केन्द्रीय सदस्य एवं अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि पराजुलीले दशैंसम्ममा सबै संगठनले पूर्णता पाउने दाबी गरेका छन् । किसान महासंघलाई पूर्णता दिनका लागि गृहकार्यमा जुटेको बताउँदै उनले पूर्णता दिन लामो समय नलाग्ने बताए ।

पार्टीले प्रशिक्षण, जागरण अभियान सञ्चालन गर्ने तयारी गर्दै गर्दा त्यसमा हाम्रो पूर्ण एवं सक्रिय सहभागिता हुने उनले बताए । पार्टी एकतापछि प्रशिक्षण एवं जागरण अभियानको अति नै आवश्यकता रहेको बताउँदै उनले पार्टीका सबै सदस्य सो अभियानमा सहभागि हुने बताए ।

प्रेस संगठन नेपालको सहइन्चार्ज तथा संयोजक महेश्वर दाहालले संगठनलाई पूर्णता दिने विषयमा छलफल जारी रहेको बताए । पार्टी एकतासँगै विभिन्न संगठनहरुको नेतृत्व चयन पश्चात ति संगठनहरुलाई पूर्णता दिनका लागि नेतृत्व गृहकार्यमै रहेको बताए ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले भदौ मसान्त भित्रमा संगठनले पूर्णता पाउने बताएका छन् । पार्टी एकीकरण पश्चात अनेरास्ववियुले नेतृत्व पाइसकेको भएपनि पूर्णता पाउन नसकिएको बताउँदै उनले भदौ भित्रमा पूर्णता दिने तयारीमै रहेको बताए ।

राष्ट्रिय युवा संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ जनसांस्कृतिक महासंघ नेपाल, आदिवासी जनजाति महासंघ नेपाल, नेपाल मुस्लिम संगठन, नेपाल दलित मुक्ति संगठन, नेपाल वृद्धिजिवी संगठन, नेपाल उद्योग–व्यवसाय महासंघ, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, प्रेस संगठन नेपाल, मानव अधिकार तथा सामाजिक अभियान नेपाल, नेपाल कानुन व्यवसायी संगठन, नेपाल भूमिहिन सुकुम्बासी संगठन, अपाङ्गता संगठन, प्रोगेशिभ इन्जिनियरिङ एशोसिएसन लगायतका जनसंगठनहरु नेकपामा रहेको छ ।

यसैगरी संगठन, विदेश मामिला, प्रचारप्रसार तथा प्रकाशन, अर्थ तथा योजना, पार्टी स्कुल, प्रादेशिक मामला, नीति अनुसन्धान प्रतिष्ठान, संघीय संसदीय, सहकारी तथा गरिबी निवारण, उद्योग तथा वाणिज्य, उपभोक्ता हित तथा आपूर्ति, कृषि तथा भुमिसुधार, कोष तथा आर्थिक व्यवस्थापन, खानेपानी तथा सरसफाई, जलश्रोत, सिँचाई तथा उर्जा विभागहरु रहका छन् ।

यस्तै निर्वाचन, न्याय, कानुन तथा मानवअधिकार, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन, पुस्तकालय तथा अभिलेख, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, युवा तथा खेलकुद, राजकीय मामला तथा सुशासन, वन तथा वातावरण, विज्ञान तथा प्रविधि, शिक्षा तथा मानश्रोत विभाग, श्रम तथा रोजगार, समाज कल्याण, सहकारी तथा गरिबी निवारण, शहरी विकास, सामन्य प्रशासन, साहित्य, कला तथा संस्कृति, स्थानीय तह, स्वास्थ्य तथा जनसंख्या विभाग रहेका छन् ।

अझै गठन भएन पोलिटव्युरो कमिटी

नेकपाको केन्द्रीय तहमा सबै संगठनले पूर्णता पाउदै गर्दा अहिलेसम्म पोलिटव्युरो कमिटी गठन हुन सकेको छैन । नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ ।

नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी छ । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १ सय ४७ जनासम्मको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागवण्डा गर्ने सहमति शीर्ष नेताबीच यसअघि नै भइसकेको छ ।

यसैगरी अनुशासन, लेखा, निर्वाचत गरी तीन आयोग समेत अहिले गठन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्