एकाबिहानै किन पुगे पर्यटन मन्त्री देउवा निवास ? 



काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। 

आज बिहान बुढानिलकण्ठ स्थित देउवा निवासमै पुगेर मन्त्री भट्टराईले मन्त्रालयको गतिविधि एवं अगामी योजनाका बारेमा छलफल गरेका छन । मन्त्री भट्टराईको यो काम नेपाली राजनीतिक ईतिहासमै नयाँ ‘संस्कार’को सुरुवातको रुपमा देखिन्छ। 

मन्त्री भट्टराईले सभापति देउवालाई मन्त्रालयको कामको बारेमा जानकारी गराउँदै उनीसंग सुझाव पनि मागेका थिए। आफ्नो मन्त्रालयले केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा मन्त्री भट्टराईले जानकारी गराए। 

‘मन्त्रालयका काम र भ्रमण वर्ष–२०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ’ मन्त्री भट्टराईले भने, ‘मैले कुरा राख्दै गर्दा उहाँले गम्भिर रुपमा लिएको र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।’

यसअघिसम्म मन्त्रीहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामको बारेमा जानकारी दिने प्रचलन थिएन। मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भईरहेको छ। यो पहिलो र नयाँ राजनीतिक संस्कारको सुरुवात भएको धेरैले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्