प्रधानमन्त्री ओली आगामी २० गते स्वदेश फर्कने तयारीमा 



काठमाडौं : सिंगापुरको नेश्नल यूनिर्भसिटि अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि आगामी २० गते स्वदेश फर्कने तयारीमा रहेका छन् । 

प्रधानमन्त्री ओलीलाई हिजो (शनिबार) अस्पतालमै पुगेर भेटेका उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिको पछिल्लो अवस्थाका बारेमा जानकारी सार्वजनिक गरेका हुन् । 

मन्त्री पुनले आउँदो बुधबारको परीक्षण पश्चात शुक्रबारसम्ममा प्रधानमन्त्री ओली स्वदेश फर्कने संकेत गरेका छन् । मन्त्री पुनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार भएको र सामान्य अवस्थामा रहेकोबारे जानकारी दिएका छन् । 

मन्त्री पुनले प्रधानमन्त्री ओलीलाई भेटेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– आज सिंगापुरमा प्रधानमन्त्री ज्यूको स्वास्थ्य उपचारको जानकारी लिन मौका मिल्यो र सामान्य स्वास्थ्य अवस्था तथा सोमबार र बुधबारको जाँच पश्चात नेपाल फर्कने खबरले असाध्यै खुशी लाग्यो र थप स्वास्थ्य लाभको कामना ।

इन्डोनेसिया भ्रमणमा रहेका मन्त्री पुन नेपाल फर्कदा सिंगापुरमा ट्रान्जिट मिलाएर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीलाई भेटेपछि मन्त्री पुनले उत्साहित हुँदै सामाजिक सञ्जाल फेसबुकमार्फत यो कुरा बाहिर ल्याएका हुन् ।   

प्रधानमन्त्री ओली गत भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्