नबिल र युनिलिभर बीच च्यानल फाइनान्सिङका लागि सम्झौता



काठमाडौं । नबिल बैंक र युनिलिभर नेपाल लि. बीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य गर्ने भएको छ। त्यसनिम्ति बैंक र युनिलिभर नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर कार्य सम्पन्न भएको छ।

सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपालबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले हस्ताक्षर गरेको बैंकले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर जनाएको छ।

सम्झौताअनुसार अब युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल पाट्नरका रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभर रहेका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउनेछन्।

च्यानल फाइनान्सिङका प्रमुख आर्कषणअन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ।

बैंकका वरिष्ठ नायव प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्य, एस.एम.ई तथा लघुवित्तका प्रमुखश्री निरज बस्नेत ‘डनिल’को उपस्थितिमा सम्पन्न हस्ताक्षर कार्यक्रममा युनिलिभरका मुख्यवितरक लगायत सहभागी थिए। युनिलिभर नेपालले आफ्ना तीन जना वितरकलाई च्यानल फाइनान्सि सुविधाका लागि सिफारिस गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्