रक्सी बनाउन ३ हजार २ सय टन खाद्यान्न



हेटौँडा : दुर्गम जिल्लाले खाद्यान्न अभाव व्यहोर्दै आइरहेको अवस्थामा मकवानपुरमा भने बर्सेनि तीन हजार २ सय टनभन्दा बढी खाद्यान्न मादक पदार्थ उत्पादनमा प्रयोग गरिन्छ । यो खाद्यान्नले करिब १६ हजार जनसंख्यालाई वर्षदिन खान पुग्छ । 

जिल्लामा उत्पादित खाद्यान्नको दुई दशमलब ४८ प्रतिशत खाद्यान्न मादक पदार्थ उत्पादनमा प्रयोग हुने गरेको प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थविद सुजन कँडेलले बताए ।  मन्त्रालयका अनुसार मकवानपुरमा गत वर्ष दुई हजार १४६ टन खाद्यान्न बचत भएको छ । 

कोदो उत्पादनको २० प्रतिशतभन्दा बढी मादक पदार्थ उत्पादनमा प्रयोग गरिएको छ । जिल्लामा दुई हजार ६६० टन कोदो उत्पादन हुने गरेको छ । त्यसमध्ये करिब ५३१ टन जाँड–रक्सी उत्पादनमा प्रयोग हुने गरेको हो । 

दुई हजार ७०० टन मकै र १०५ टन धान मादक पदार्थ उत्पादनमा प्रयोग गर्ने गरिएको छ । यही जिल्लामा एकातिर खाद्यान्न अभावले जंगली कन्दमूल खाएर जीविका धान्दै आएका समुदाय छन् भने अर्कोतिर खाद्यान्नलाई मादक पदार्थ बनाएर दुरुपयोग गर्ने समुदाय पनि उल्लेख्य रहेको कँडेलले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्